काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ भएका विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा उनले सरकारले एक महिनाभित्र एसइई नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता पूरा गरेको उल्लेख गर्दै अब असफल विद्यार्थीका लागि अतिरिक्त तयारी कक्षा सञ्चालन गर्ने योजना अघि सारिएको जानकारी दिए ।
यस वर्षको एसइई नतिजाअनुसार २ लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५.९८ प्रतिशत उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ननग्रेडेड विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउनेछन् ।
मन्त्री पोखरेलले देशभरका विद्यालयको भौतिक संरचना, शिक्षक दरबन्दी, खेलमैदान र अन्य शैक्षिक पूर्वाधारको विस्तृत अध्ययन सम्पन्न गरी विद्यालय तहको पुनर्संरचना गरिने पनि बताए ।
बैठकमा सांसदहरूले सुकुमवासी बस्तीबाट विस्थापित बालबालिकाको शिक्षामा विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने तथा ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए ।
त्यसैगरी, विद्यालय खाजा कार्यक्रममा हुने अनियमितता रोक्न, विभिन्न १७ प्रकारका शिक्षक समस्या समाधान गर्न र विद्यालय तहको पाठ्यक्रमलाई व्यावसायिक तथा सीपमूलक बनाउने विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रालयका अधिकारीहरूले हाल देशभर २७ हजार सामुदायिक विद्यालयमा २ लाख ३२ हजार १०५ शिक्षक तथा कर्मचारी कार्यरत रहेको विवरणसमेत प्रस्तुत गरेका छन् ।




