राजनीति

कोशी प्रदेश सरकारले कहिलेदेखि बाढी पहिरो प्रभावित जनतालाई राहत उपलब्ध गराउला ?

काठमाडौं । कोशी प्रदेश सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध नगराएको भन्दै अहिले छलफल र बहस अगाडी बढेको छ । तर समयमा नै बाढी पहिरो प्रभावित क्षेत्रको निर्माण कार्य नभएको र बाढी पहिरो पीडितले राहत पाउन नसकेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कांग्रेस–एमालेले ध्यानाकर्षण पत्र बुझाएका छन् । कांग्रेस र एमालेले मृतकका परिवारलाई राहत, प्रभावितलाई क्षतिपूर्ति र बाढी पहिरोका कारण अवरुद्ध सडक खुलाउन माग गर्दै सरकारलाई पालैपालो ज्ञापनपत्र बुझाएका हुन् ।

आइतबार नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ भने शनिबार एमालेले ज्ञापन पत्र बुझाएको थियो ।

कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले मृतकलाई राहत, प्रभावितलाई तत्काल क्षतिपूर्ति र अवरुद्ध यातायात खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए भने एमालेका तर्फबाट नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पनि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । दुवै पार्टीले ज्ञापनपत्र बुझाउँदा मुख्यमन्त्रीले अन्यमन्त्रीहरुलाई समेत छलफलमा बोलाएका थिए ।

प्रदेश सरकारले गत आइतबार नै प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

ज्ञानपन पत्र बुझाउन आएका पार्टीका नेताहरुलाई मुख्यमन्त्री कार्कीले राहत वितरण गर्ने निर्णय भइसकेको र अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको बताए । बाढीले अवरुद्ध भएका सडक खोल्ने र पुललगायतको मर्मत सम्भार र निर्माणलाई द्रुत गतिमा अघि बढाउने तयारी रहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

कांग्रेसले मुख्यमन्त्रीलाई बुुझाएको ज्ञापनपत्र यस्तो छ ः

‘नेपालीहरुको महान चाड पर्वहरुको शुरुवातको समयमा भएको यो विपतको घडीमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरुको खोजी, विस्थापितहरुको पुनर्स्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरुलाई आवश्यक राहत सरकारले उपलब्ध गराउनुपर्छ,’ कांग्रेसले भनेको छ, ‘मर्मत गरेर सञ्चालनमा आउन सक्ने झोलुङ्गे पुलहरुको मर्मत, नयाँ झोलुङ्गे पुलको निर्माण, बेलिब्रिजको निर्माण, अवरुद्ध सडक र पुलको पुनर्निर्माण गरी तत्काल आवतजावत सुचारु गर्न नेपाली कांग्रेस कोशी प्रदेश एवंम संसदीय दल प्रदेश सरकार समक्ष माग गर्दछ ।’गत १०–१२ असोजसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा २० जनाको मृत्यु भएको थियो । ७ जना बेपत्ता छन् । ६ सय बढी परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण ३४ वटा पुलमा क्षति पुगेको थियो । भौतिक पूर्वाधार तर्फ करिब १ अर्ब ११ करोड २० लाख बराबरको क्षति भएको अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *