राजनीति

राष्ट्रिय सभा निर्वाचनमा सबै दल एक्लाएक्लै गएको भए कांग्रेसले जित्ने थियो १७ सिट

काठमाडौं । कुनै पनि निर्वाचन सामान्य हुन्न । नतिजा आफ्नो पक्षमा पार्न अनेक तिकडम अपनाउने गरिन्छ । क्लब, खानेपानी समिति, विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा त अनेक जालझेल र मोर्चाबन्दी हुन्छ । झन् सांसदको निर्वाचनमा नहुने कुरै भएन ।

नेपालमा २०७४ को निर्वाचनदेखि मिलेर जाने प्रचलन सुरु भएको हो । त्यसबेला एमाले र माओवादीले गठबन्धन बनाएर चुनावमा झन्डै दुई तिहाइ सिट हासिल गरेका थिए । त्यसयता गठबन्धनको संस्कृति विकास भएको छ । वाम एकताकै कारण कांग्रेस २३ सिटमा खुम्चिन बाध्य भएको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा मिलेर चुनावमा गए । कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । त्यसअघिको स्थानीय निर्वाचनमा पनि गठबन्धन हाबी भएको थियो । कांग्रेसले तीन सय २७ स्थानीय तहमा जितेको थियो । प्रदेश सभामा पनि कांग्रेसले उल्लेखनीय जित हात पारेको थियो ।

सोही कारण अहिले माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिटमा साझा उम्मेदवार उठाउने भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा दलहरुले एक्लाएक्लै निर्वाचन लड्ने आँट नगर्दा कांग्रेसलाई भने घाटा भएको छ । गठबन्धन दलबाट कांग्रेसले १० सिट पाए पनि दलहरुले एक्लाएक्लै निर्वाचन लड्दा १७ सिट जित्ने देखिन्छ ।कांग्रेस कोशी प्रदेशबाहेक सबै प्रदेशमा अगाडि छ ।

दलहरु एक्लाएक्लै राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएको भए कोशीमा एमालेले दुई सिट र अन्य सबै प्रदेशमा रिक्त हुने १७ सिटमा कांग्रेसको जित सुनिश्चित थियो । कोशीमा एमालेको ४२ सय १० मतभार छ । कांग्रेसको ३७ सय २२ मत छ । कोशीमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।

मधेशमा कांग्रेसको मतभार ३१ सय ६१ छ । मधेशमा दोस्रो पार्टी एमालेको मतभार २३ सय दुई छ । बागमतीमा कांग्रेसको मतभार चार हजार १३ रहेको छ । एमालेको मतभार २५ सय ७१ रहेको छ । गण्डकीमा कांग्रेसको मतभार २७ सय चार रहेको छ । एमालेको मतभार २४ सय ५८ छ ।

लुम्बिनीमा कांग्रेसको मतभार ३१ सय ७९ छ । एमालेको मतभार २६ सय २० मतभार छ । कर्णालीमा कांग्रेसको मतभार १८ सय ८२ रहेको छ । दोस्रो दलको रुपमा माओवादी छ । माओवादीको मतभार १६ सय एक रहेको छ । सुदूरपश्चिममा कांग्रेसको मतभार २३ सय ४१ छ । दोस्रो दलको रुपमा रहेको एमालेको मतभार १४ सय ८० छ । सत्तारुढ दलबीच गठबन्धन गरेर जाँदा कांग्रेस १० सिटमा खुम्चिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *