राजनीति

माधवलाई उचालेर कांग्रेसलाई छिर्के हान्ने प्रचण्ड दाउ

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेखि चार दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन्।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट लिने गरी सहमतिको खाका भएको थियो। तर सिट बाँडफाँटको कुरा नमिलेपछि एकीकृत समाजवादीका नेताहरू बैठक छाडेर हिँडेका थिए ।

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठकमा गठबन्धन दलबीचमा सहमति नमिलेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायत असन्तुष्ट भएर हिँडेका हुन् । सहमतिअनुसार कोशीमा कांग्रेस र माओवादीले एक–एक, मधेशमा कांग्रेस र जसपाले एक–एक, सुदूरपश्चिममा कांग्रेस र माओवादीले एक–ए र लुम्बिनीमा कांग्रेस र माओवादीले एक–एक सिट पाउने अनौपचारिक सहमति भएको छ ।

वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन । सोही विषयमा छलफल गर्न आज बैठक बसेको हो ।राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्डले दोहोरो रोल खेलिरहेका छन् । यसअघि एमालेलाई तीन सिटदिनुपर्ने भन्दै उनले गठबन्धनमा विभाजन ल्याउन खोजेका थिए । अहिले फेरि उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उचालेर कांग्रेसलाई छिर्के हान्न खोजिरहेका छन् ।

सबै दल एक्ला एक्लै लड्ने हो भने कांग्रेसले १७ र एमालेले दुई सिट जित्ने अवस्था छ । तर प्रचण्ड भने कांग्रेसलाई सम्मानजनक सिट दिन चाहिरहेका छैनन् । उनकै कारण शनिबार रातिको वार्ता भाँडिएको नेताहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *