देश

लुम्बिनीमा मन्त्रीपरिषद् विस्तारको तयारी, कांग्रेस र माओवादीबाट एक-एक मन्त्री थपिँदै

दाङ। लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् ।

सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा मन्त्रालय खाली रहेपनि एउटा मन्त्रालय आफैले राखेर बाँकी दुई वटा मन्त्रालयका मन्त्री थप गर्ने योजना बनाइएको बताइएको छ ।

नेपाली कांग्रेसबाट एक र माओवादी केन्द्रबाट एक जना गरी दुई जना मन्त्री थप गर्ने तयारी छ । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना र माओवादीबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री बनाउन थालेको स्रोतले जनाएको छ । केसीलाई खानेपानी, ग्रामिण तथा शहरी विकास, रानालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

हाललाई मुख्यमन्त्री चौधरीले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफुसँगै राख्ने योजना बनाएका छन् । गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता साझेदार दलहरुको विचमा सहमती कायम नहुदा सरकार बनेको झण्डै ९ महिना सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन् । विभागिय मन्त्री नपाउदा मन्त्रालयको योजना निर्माण र कार्यान्वयनको काम प्रभावकारी हुन सकेको छैन् । सरकार गठन हुदा माओवादीलाई तीन वटा मन्त्रालय दिने सहमती भएको थियो ।

तर, अहिले जम्मा एक वटा मन्त्रालयको नेतृत्व माओवादी पार्टीले पाएको छ । बाँकी दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छैन् । माओवादी पूर्व सहमती कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहदै आएको थियो ।

नेपाली कांग्रेसले मन्त्रालय संख्या नथप्नेगरी सरकारलाई पूर्णता दिन मुख्यमन्त्री चौधरीलाई आग्रह गरेको थियो । सोही आधारमा मन्त्रालय थप नगर्ने, बाँकी मन्त्रालयहरुको लागी मन्त्री नियुक्त गर्ने तयारी गरेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *