कला/साहित्य

कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

 

काठमाडौं । कवि दिनेश विक्रम थापाको नयाँ कविता कृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरे लगायतका अतिथिहरुले कविताकृतिकाे लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि डा. घिमिरेले कविता लेख्न सजिलाे नहुने बताउदै कविता आफैँमा गम्भीर विषय भएको बताएका छन् । उनले दिनेश विक्रम थापा कविता लेखनमा स्पष्ट भएको उल्लेख गर्दै उनका कविता मार्मिक र चित्रजस्तै स्पष्ट भएको बताएका छन् ।

डा. घिमिरेले भने, “कविता लेख्न गाह्रो छ । लेखिएका कविता पाठकको मनमा बस्न झन् गाह्रो हुन्छ । त्यसैले कविले पाठकको मनमा बस्ने कविता लेख्नुपर्छ ।”

उनले दिनेश विक्रम थापाका कविता पाठकको मनमा पुग्ने शैलीका भएकाे बताए । कवि विधान आचार्यले लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै दिनेश विक्रम थापाले इमानदारीपूर्वक कविता लेखेको उल्लेख गरे । उनले २५ पात्रमा लेखिएको कृतिभित्रको २५ कवितामा दुई सयभन्दा बढी पात्रहरूको चरित्र चित्रित भएको बताए ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लोकार्पित कृतिभित्रका कविताले नेपाली जनता विशेषगरी सुदूरपश्चिमको नेपालीको अवस्थालाई संकेत गरेको बताए ।

कवि थापाले कृति प्रकाशित हुनुको रचनागर्भ सुनाउँदै आफू कवितामै लागेकोले अर्को कविताकृतिको तयारी गरिरहेको उल्लेख गरे । उनले कविताको कुनै सीमा बन्धन नहुने समाजको विकृति विरुद्धको र अव्यवस्था विरुद्धको एउटा सशक्त विद्रोह भएकाे बताएका छन् । समाज अनि त्यहाँ देखेका सकारात्मक वा नकारात्मक चित्रलाई बिम्ब बनाएर कविता लेख्ने आफ्नाे प्रयत्न रहेको उनकाे भनाई थियाे ।

कार्यक्रममा साहित्यकार रामबहादुर पहाडी, विनोद नेपाल, लक्ष्मी पराजुली, कविलाई गुल्मीकाे स्कुलमा स्काउट र अंग्रेजी पढाउने शिक्षक तुलसीदास गौतमले आफ्ना धारणा राखे । उक्त अवसरमा कृतिभित्रबाट कवि रीता खत्री, कमला थापा लगायतले कविता वाचन गरेका थिए ।

जय सिंह धामीको देश शिर्षककाे कवितामा सामान्य नेपाली नागरिक जय सिंह धामीको मृत्युले सिर्जना गरेको असामान्य अवस्था, असुरक्षित तुइन यात्रा कारण मृत्युवरण गर्न बाध्य धामीको निधनले नेपालमा विकासको गति, राजनीति, सीमा सुरक्षा तथा कूटनीतिक सम्बन्धलाई समेत खबरदारी गरेको छ ।

भूगाेल साहित्य समाजले प्रकाशनमा ल्याएकाे थापाको जय सिंह धामीको देश कविता सङ्ग्रहभित्र उनी जस्तै साधारण पात्रका असाधारण भोगाइलाई प्रस्तुत गरिएको छ । प्रस्तुत सङ्ग्रहभित्र विभिन्न व्यक्तिका नामबाट शीर्षकीकरण भएका २५ वटा कविता समावेश गरिएको छ । ती कविता विषयवस्तु, भाव वा बिम्ब, सन्दर्भ, भाषाशैली तथा समग्र प्रभावका आधारमा भिन्न भिन्न रहेका छन् । प्रस्तुत सङ्ग्रहभित्र गरिबी, देशप्रेम, राष्ट्रियता, राजनीति, विदेश पलायन, जीवन दर्शन, वातावरण, विद्रोह, युद्ध, नारी सङ्घर्ष र मृत्यु जस्ता विविध विषयवस्तुमा आधारित कविता रहेका छन् ।

कविका अन्य प्रकाशित कृतिहरूमा समय रक्तस्नान गरिरहेछ- २०६४ (कविता सङ्ग्रह), ज्योतिका युगीन स्वरहरू (संयुक्त कविता सङ्ग्रह) र तेस्रो फूल-२०७१ (कविता सङ्ग्रह) रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *