काठमाडौं । हवाई नीति २०६३ ले निकटस्थ विमानस्थबाट नयाँ विमानस्थल बनाउँदा तराईमा ४० नटिकल माइल (७४ किमी) हुनुपर्ने प्रावधान तोकेको छ । हिमाली र पहाडी क्षेत्रमा भने २० नटिकल माइल (३७ किमी) को दूरीमा अर्को विमानस्थल बनाउन सकिने उल्लेख छ ।
विराटनगर विमानस्थलबाट धरान ४० किलोमिटरभित्रै पर्छ । विराटगनरबाट धरान आवतजावतका लागि राम्रो हाइवे बनेको छ । विराटनगरबाट धरान जान सार्वजनिक सवारीमै आधा घन्टा भए पुग्छ । सरकारले विराटनगरमै लगानी धेरै गरिसकेको र अझै थप्दै गएको छ ।
प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा ३ अर्ब रुपैयाँ लगानी गरेर भव्य टर्मिनल भवन बन्दै छ ।
तर धरानमा नयाँ विमानस्थल बनाउन भन्दै मेयर हर्कराज साम्पाङ राई कस्सिएका छन् । उनले पर्यटनमन्त्री सुदन किराँतीलाई दबाब दिएर विमानस्थल निर्माणका लागि अध्ययन गर्न समिति पठाउन भनेका तिए । जुन समितिले हवाई नीतिविपरीत धरानमा विमानस्थल बनाउन नसकिने निष्कर्ष निकालेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ मा गठन गरेको एक समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवदेनअनुसार सानो क्षमताका जहाजको उडान र अवतरण गर्न सक्ने एकतर्फी धावनमार्गको विमानस्थल निर्माण गर्न सकिने तर त्यसलाई सञ्चालन भने गर्न नसकिने निष्कर्ष निकालेको हो ।
पर्यटनमन्त्री किराँतीले धरानमा नयाँ विमानस्थल बनाउन अध्ययन समिति गठन गर्न लगाएका थिए । मन्त्री किराँतीले निर्देशनपछि हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले तीनजना कर्मचारी राखेर धरानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको थियो ।
अध्ययन प्रतिवदेनमा साना जहाजको उडान तथा अवतरण गर्न सक्ने क्षमताको विमानस्थल बन्न सक्ने निचोड निकालेको भए पनि सञ्चालन हुन सक्ने आधार नभएको उल्लेख छ । साना जहाजका लागि एकातर्फ उडान गर्न सकिने धावनमार्ग बन्ने भए पनि विमानस्थल सञ्चालन कुनै पनि दृष्टिकोणबाट उपयुक्त नदेखिएको उक्त समितिको निष्कर्ष निकालेको छ ।
आर्थिक हिसाबले धरानमा विमानस्थल निर्माण गर्नु उपयुक्त नभएको, हवाई नीतिविपरीत विमानस्थल बनाउन नसकिने र राज्यको अर्बौं लगानी गरेर प्रतिफलको अपेक्षा नै गर्न नसकिने निष्कर्षसहितको प्रतिवदेन तयार अध्ययन समितिले तयार पारेको छ ।




