काठमाडौं। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । उनी एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालयका अनुसार मन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद चर्किरहेका बेला हुन लागको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।
सरकारले एसपीपी रद्द गर्ने निर्णय गर्दै त्यस सम्बन्धमा अमेरिकालाई जानकारी दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । तर हालसम्म परराष्ट्र मन्त्रालयले अमेरिकालाई सोबारे जानकारी गराएको छैन ।
बुधबारमात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो।
पछिल्लो समय सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच एमसीसी र एसपीपीको विषयलाई लिएर रस्सकस्सी चलिरहेको छ। छ साना कम्युनिस्ट पार्टीहरुले एमसीसी र एसपीपीको विरोधमा सडक संघर्षको घोषणा गरेका छन्।
यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
अमेरिकी सहायक विदेश मन्त्री लु दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्रीसमेत हुन्।




