रिबन

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो ।

‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ, अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकारसमक्ष ३० कात्तिकको मितिसमेत प्रस्ताव गरिसकेको छ,’ निर्वाचन आयोग स्रोतले भन्यो । आयोगले छिटोभन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकारसमक्ष दबाबसमेत बढाउन थालेको छ ।

आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले नामावली संकलनतर्फ भिड कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।

७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट हाल मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *