काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक मतपत्रको छपाइ सम्पन्न भएको छ । आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन् । मधेस प्रदेशका जिल बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको पनि आयोगले जनाएको छ ।
यसैबीच आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।
उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।




