काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । बुधवार (आज) राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् । ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्यायौँ । तर अझै पुगेको छैन,’ प्रचण्डले भने ।
शान्ति प्रक्रिया जोगाउन व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन
अध्यक्ष दाहालले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिए । ‘एमसीसी सम्झौता संसद्बाट अनुमोदन नगराउनका लागि हर सम्भव प्रयत्न गरियो, एउटा यस्तो विन्दुमा पुगियो कि, एमसीसी सम्झौता अनुमोदन नगरी अगाडि नजाने अवस्था आइपुग्यो’, उनले भने, ‘शान्ति प्रक्रिया धरापमा पर्ने, प्राप्त उपलब्धि गुम्ने खतरा आएपछि जोखिम मोलेर व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएको हो ।’
बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसीसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गरे । ‘नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर, रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका रूपमा अगाडि सारेर तथा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गरेर क्रान्तिकारी बन्न खोजियो’, आफ्नो पहिलो कार्यकालको समीक्षा गर्दै उनले भने, ‘घटनाक्रमले बहुमतको सरकार पनि गयो, संविधान पनि बनेन, एमसीसी अगाडि नबढाउने निर्णय गरेको भए प्राप्त उपलब्धि पनि गुम्ने अवस्था थियो ।’




