काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संसदबाट अनुमोदन भएपछि सबैभन्दा ठूलो समस्या नेकपा माओवादी केन्द्रलाई परेको छ । यही विषयलाई लिएर थोरै पनि समीकरण मिलेन भने पार्टी नै फुट्नसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
निक्कै सुझबुझका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १३ वर्ष अगाडि आफ्नो पार्टीमा समाहित भएको नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्रलाई फकाउन सकेनन भने सम्भवतः उनीहरु अलग भएर जाने आँकलन गरिएको छ । गत शुक्रबारदेखि राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालविरुद्ध पूर्व एकता केन्द्रका नेताहरु नराम्रोसँग खनिए । यसलाई अध्यक्ष दाहालले गम्भीर रुपमा लिएको बुझिएको छ ।
केन्द्रीय कमिटी बैठकको मुख्य एजेन्डा पार्टीमा केन्द्रीय सदस्य मनोयन र पदाधिकारी चयन हो । एमसीसीको नाममा पूर्व एकता केन्द्रका नेताहरुले पदको बार्गेनिङ गरेका हुन् भन्ने कुरा अध्यक्ष दाहालले राम्रोसँग बुझेका छन् । मुख्यगरी पार्टी महासचिव पदको बार्गेनिङ हो भन्ने कुरा अध्यक्ष दाहाललाई राम्रोसँग थाहा छ ।
नारायणकाजी श्रेष्ठले आफूलाई महासचिव र पदाधिकारीमा केही मान्छे तथा केन्द्रीय सदस्यमा आफ्नो मान्छे नथपे पार्टीबाट अलग हुने चेतावनी दिइसकेका छन् । तर तत्काल महासचिव पद नारायणकाजीलाई दिनसक्ने अवस्थामा प्रचण्ड छैनन् । महासचिव पद नारायणकाजीलाई दिए पार्टी नै कब्जा गर्ने भय मात्र होइन, आफ्ना पुराना र भरपर्दा सहयोगसमेत गुम्ने डर अध्यक्ष प्रचण्डलाई अर्कोतिर छ ।
अध्यक्ष दाहाल वर्षमान पुनलाई महासचिव बनाउन तयार छन् । स्वास्थ्यका कारण महाधिवेशनमा समेत उपस्थित हुन नसकेका वर्षमानलाई महासचिव बनाउने तमतयार भएर बसेका अध्यक्ष दाहाललाई पार्टी फुटबाट बचाउने मात्र होइन, आउँदो स्थानीय निर्वाचन, प्रदेश र संसदमा समेत सम्मानजनक उपस्थिति हुनुपर्ने चुनौति त्यत्ति नै बलियो भएर उभिएको छ ।
पुनलाई महासचिव बनाए नारायणकाजीहरु अलग हुने निश्चित छ । नारायणकाजीहरु अलग भए पार्टीले संगठानिक रुपमा गम्भीर क्षति व्यहोर्नुपर्ने निश्चित जस्तै छ । यो अवस्था सिर्जना हुन नदिन प्रचण्डले नयाँ आइडिया फुराएका छन् ।
सरकारमा अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा असफल भएका छन् । देशको अर्थतन्त्र डामाडोल छ । प्रधानमन्त्रीसमेत अर्थमन्त्री शर्मासँग सन्तुष्ट छैनन् । कृषि क्षेत्रका जुनियर टेक्निकल असिस्टेन्ट (जेडिए) लाई अर्थमन्त्रालय जिम्मा लगाएकाले मुलुकको अर्थतन्त्र डामाडोल मात्र भएको छैन, पार्टीसमेत बद्नाम भएको निष्कर्ष पार्टी अध्यक्ष दाहालले निकालेका छन् ।
अर्थमन्त्री शर्मालाई थुतेर वर्षमानलाई अर्थमन्त्री बनाउने तयारी अध्यक्ष दाहालले थालेका छन् । वर्तमान अवस्थामा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउँदा सर्वसाधारणमा राम्रै म्यासेज जाने विश्लेषण गरिएको छ । शर्माको स्थानमा पहिले पनि अर्थमन्त्री भएर सफल भइसकेका पुनलाई स्थापित गर्ने योजना अध्यक्ष दाहालले बनाएका छन् ।
पुनलाई अर्थमन्त्री बनाएर महासचिव पद नदिने अध्यक्ष दाहालको योजना हो । नारायणकाजीलाई महासचिव बनाइयो भने पार्टी फुटबाट बच्ने र आगामी निर्वाचनका लागि पुनबाट पार्टीलाई राम्रै आर्थिक टेवा पुग्ने अनुमान छ । भीड हेरेर निर्णय लिने आदतका अध्यक्ष दाहाललाई भोलि आइतबारबाट निरन्तरता पाउने केन्द्रीय कमिटीको बैठकले कस्तो दबाब सिर्जना गर्छ, त्यो महत्वपूर्ण हुने बताइएको छ ।




