काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संसदमा पेश भए गठबन्धन टुट्नसक्ने घोषणा गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनसँगको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले एमसीसी संसदमा पेश गरेर छलफल हुँदा एमसीसीको विपक्षमा मतदान गर्ने बताए । उनले विपक्षमा मतदान गरेपछि सरकारमा नरहने र गठबन्धनबाट बाहिरिने घोषणा गरेका हुन् ।
सरकारले चाहँदा सभामुखले एमसीसी संसदमा टेवल गर्नैपर्ने र त्यसो गर्न नसके सभामुखले राजीनामा दिनुपर्ने उनको भनाई । उनले भने,‘सभामुख भएपछि सरकारको विजनेश लानुपर्छ । टेवल गर्न पनि समस्या भयो भने सभामुखले राजीनामा दिनुपर्छ ।’
एमसीसीमा राष्ट्रिय सहमति कायम हुनुपर्ने अडान कायमै रहेको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिविना एमसीसी संसदमा टेवल गरे त्यसको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदना गरेपछि गठबन्धन समेत टुट्ने बताए । उनले भने,‘एमसीसी संसदमा टेवल भयो भने संसदमा विरोध गर्छौं । संसदमा एमसीसीले फाइदा हुँदैन भनेर बहश गर्छौं । त्यसो भएपछि नैतिक रुपले सरकारमा बस्ने जटिल अबस्था आउँछ । अर्को ढंगले समिकरण बन्नसक्छ । गठबन्धनमा समेत रहने कुरा भएन ।’
सरकारले संसदको आगामी बैठकर्मा एमसीसी टेवल गर्ने तयारी थालेको छ ।




