विचार

बीपी कोइरालाको सान्दर्भिकता

एक सय सात वर्षअघि यस धर्तिमा असाधारण प्रक्रियाबाट जन्मिएका नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी बीपी कोइराला राजनीतिको केन्द्रीय पात्र हुनुहुन्छ । १०४ वर्षीय जहानियाँ शासनलाई समाप्त गरेर जनअभिमतका आधारमा शासन व्यवस्था सञ्चालन गर्नुपर्छ र त्यो व्यवस्था सम्पूर्ण रुपले जनताप्रति नै जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने मूल्य र मान्यता राख्ने बीपीलाई नेपाली राजनीतिले शिखर पुरुषको रुपमा स्वीकार गरेको छ । समकालीन राजनीतिमा बीपीलाई उच्चस्थान प्राप्त हुनुमा उहाँको क्षमता, योग्यता, दूरदर्शिता र जनताप्रतिको समर्पण र विश्वासले महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ ।

समयानुसार लिनुपर्ने नीति, राख्नुपर्ने अडान र देखाउनुपर्ने आत्मविश्वासका कारण बीपी जनमनमा स्थापित र विश्वसनीय पात्र हुनुभएकाले होला स्वभाविक प्रक्रियाबाट जन्मनु भएन, बल प्रयोग भयो, त्यसैले स्वभाव विद्रोही नै रह्यो । शल्यक्रिया गरेर जन्माउनु परेको सन्दर्भमा बीपीले आफ्नो आत्मकथामा आफूमाथि बल प्रयोग भएकोले पनि क्रान्तिकारी स्वभाविको बन्नुपरेको हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । सम्भवतः आफूलाई मूल्यांकन र विश्लेषण गर्ने क्रममा बीपीले स्वभाव र चरित्रको निर्धारण के कसरी हुँदै जान्छ भन्ने दृष्टिकोण आत्मकथामार्फत राख्नु भएको हुनुर्पछ ।

परिवर्तनका लागि पहलकदमी बीपी भन्दा अघि र समकालीनहरुले पनि नगरेको होइन, तर त्यसमा बीपी कोइराला सबैभन्दा सफल र प्रभावकारी सावित हुनुभएको देखिन्छ । जनताले अत्यधिक रुचाएको र क्षमता देखाएको व्यक्तित्वको रुपमा कोइराला राजनीति र साहित्यमा सुपरिचित हुनुहुन्छ । आफ्नो देशको आवश्यकता र मौलिकता पहिचान गर्न सक्ने क्षमता र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरी तदनुरुप राष्ट्रिय दृष्टिकोण बनाउन सक्ने सामथ्र्यले नै बीपीलाई आजसम्म जीवन्त राखेको हो ।

कहिलेकाहिँ अप्रिय निर्णय लिएर पनि राष्ट्रिय अस्तित्व र राजनीतिक परिपक्वता देखाउन सक्नुपर्दछ भन्ने विचार र मान्यताले बीपीलाई दुरदर्शी सावित गरेको छ । आज आएर नेपालको राजनीतिलाई मूल्यांकन गर्दा कोइरालाले लिएका नीतिहरु र प्रस्तुत गरेका विचारहरु नै नेपालको हितमा देखिन्छन् । त्यो व्यक्तित्वलाई स्वीकार गरी राष्ट्रिय स्वाभिमान कायम राख्न सक्ने क्षमताले पनि बीपी कोइरालालाई कालजयी बनाएको छ ।

छिमेकी मुलुक भारतका तत्कालीन प्रधानमन्त्री जवहारलाल नेहरु, चीनका नेता माओसेत्सुङसँग वार्ता र संवाद गरी नेपालको स्वाधिनता, अस्तित्व रस्वतन्त्र व्यक्तित्वको रिचय प्रस्तुत गर्न बीपी सफल भएको पाइन्छ । सगरमाथाको विवाद सुल्झाउने क्षमता, तेस्रो देशसँग सम्बन्ध विस्तार गर्ने अग्रसरता, भारतको प्रभाव घटाउने नीतिगत कार्ययोजना र अन्तराष्ट्रिय मञ्चहरुमा साना देशहरुको दृष्टिकोण प्रस्तुत गर्ने शैलीलाई विश्वको ध्यान आकृष्ट गर्न बीपी सफल हुनुभएको देखिन्छ ।

राजासँगको संवाद, जनताप्रतिको विश्वास, भूमिसुधार, सरकारको खर्च कटौती नीति, नेपालको क्षमता र आवश्यकताको स्पष्ट मार्गचित्रसहित बनेको राष्ट्रिय अवधारणाले गर्दा नै बीपीको व्यक्तित्व अन्तर्राष्ट्रियकरण भएको पाइन्छ । समाजवादीहरुसँगको बीपीको गम्भीर संवाद र छलफलले अन्तर्राष्ट्रिय राजनीतिलाई नै तरंगीत बनाएको अनुभव पनि तत्कालीन समयका दस्तावेजहरुमा पाइन्छ । त्यस्तो राष्ट्रिय व्यक्तित्वकै कारण बीपीको उचाइँ चुलिएको हो भन्दा अतियुक्ति हुँदैन । धरातीय यथार्थलाई छिमेकीहरुका बीचमा स्पष्ट गरी राष्ट्रिय स्वार्थबाट निर्देशित भएर लिइएको नीतिहरुले नै बीपीलाई स्मरणीय बनाएको हो ।

जब नेतृत्वको क्षमता, दृष्टिकोण र चिन्तनमा खोट देखिन्छ, तब बीपीजस्ता दूरदर्शी र कालजयी नेताको अभाव र आवश्यकता खट्किन्छ ।

बीपीले नै स्थापना गरेको राजनीतिक पार्टी नेपाली कांग्रेसले २००७ को मात्र होइन २०४६ र २०६२÷०६३ को आन्दोलनको अगुवाइ गरेको छ । सबै आन्दोलन सफल भएका छन् । तर आन्दोलनपश्चात जनताले सोचेको, खोजेको र चाहेको परिस्थिति बन्न सकेको छैन । आन्दोलनमा सफल हुने, तर त्यसपछिको राजनीतिक नेतृत्वमा प्रश्नचिह्न लाग्ने नियतिबाट नेपाली कांग्रेस र नेपालको राजनीति गुज्रिएको छ । वैचारिक रुपमा स्वीकार गरिएको शासन प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा नेपाली राजनीतिक असफल भएको छ । जुन नीति, विचार र कार्यक्रमका आधारमा आन्दोलनमा सफलता मिलेको हो, त्यसलाई कार्यरुपमा उतार्ने सन्दर्भमा सफलता प्राप्त नहुनु नै ठूलो समस्या बनेको छ ।

यसप्रति जति नेतृत्व गम्भीर, सम्वेदनशील र चिन्तित हुनुपर्ने त्यो भएन । त्यस सम्बन्धमा चलाउनु पर्ने संवाद र छलफलमा कमी आएको छ । के प्रयोजनका लागि हाम्रो राजनीतिक जीवन ? भन्ने सवालमा स्पष्ट दृष्टिकोण छैन । त्यसको भावले नै अन्यौल र अनिश्चिता जन्माएको र पटक पटक दुर्घटना व्यहोर्न नेपाली राजनीति बाध्य भएको अनुमान लगाउने गरिन्छ । कति कुरा त नेतृत्वको क्षमता र दृष्टिकोणमा नै भएको कमीले सिर्जना गरेको छ । जब नेतृत्वको क्षमता, दृष्टिकोण र चिन्तनमा खोट देखिन्छ, तब बीपीजस्ता दूरदर्शी र कालजयी नेताको अभाव र आवश्यकता खट्किन्छ ।

राजनीतिक व्यापार र व्यवसाय बनेको वर्तमान परिस्थितिमा बीपीले प्रधानमन्त्री हुँदा खर्च कटौती गरेको, आफ्ना सेवा र सुविधा घटाएको नेपाल र नेपालीको मान प्रतिष्ठा सम्मान बढाएको दृष्टान्त दन्त्य कथाजस्तो लाग्न सक्छ । नेहरुले हिमालयसम्म भारतको सुरक्षा रहन्छ भन्ने अभिव्यक्ति दिँदा बीपीले आपत्ति जनाएको र नेहरुले संसदमा बीपी ठीक हुनुहुन्छ, मैले आफ्नो अभिव्यक्ति सच्चाउँछु भनी दिएको संसदको भाषण रेकर्डमा नै छ । मुस्ताङमा नेपाली सेनाको मानिस मारिँदा चीनलाई क्षतिपूर्ति दिन बाध्य बनाएका जस्ता अनेकौं सन्दर्भले बीपीको नीति कति देश र जनताप्रति समर्पित थियो भन्ने अनुमान लगाउन सकिन्छ । तर आज तुइन काटिदिएर मानिस मर्नुपरेको क्षण, नेपाली आकाशमा बिना अनुमति उडाइएको सैनिक जहाज, नेपाली भूमि अतिक्रमण जस्ता घटनाप्रति लामो र अस्वभाविक मौनता देखिन्छ ।

त्यसैले नेतृत्व क्षमतामाथि प्रश्नैप्रश्न तेर्सिएको छ । बीपी जन्मजयन्ती र कांग्रेसको चौधौं महाधिवेशनको समय भएकाले कांग्रेस नेता, कार्यकर्ता र लोकतन्त्रवादीहरुले छलफल, बहस, अध्ययन र विश्लेषण गरी तलदेखि माथिसम्म सक्षम, योग्य, इमान्दार र वास्तवमा नै देश र जनताप्रति समर्पित नेतृत्व विकास र छनौट गर्न अत्यावश्यक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *