रिबन

कांग्रेस बल्ल सही ट्रयाकमा

काठमाडौं । प्रतिनिधिसभा भंग हुनुमा नेपाली कांग्रेसको कुनै कमजोरी र दोष छैन । सुविधाजनक बहुमत ल्याएर सरकार चलाउने नेकपाभित्रै विवादका कारण प्रधानमन्त्री केपी ओलीले दुई वर्षअगावै संसद् विघटन गरेका हुन् । यो कुरा उनले संसद्देखि विभिन्न सार्वजनिक कार्यक्रममा समेत स्वीकारिसकेका छन् ।

तर, प्रतिनिधिसभा विघटनपछि कसरी अघि बढ्ने भन्ने विषयमा नेपाली कांग्रेस अलमलमा देखिएको भन्दै पार्टीका शुभचिन्तकदेखि आमजनताले चासो देखाएका छन् । कांग्रेसले एउटा सही ट्रयाक लिइदिओस् भन्ने सबैको इच्छा र चाहना देखिएको छ ।

तर, मिडियामा कांग्रेसले चुनाव र प्रतिनिधिसभा पुनःस्थापना भनेर दुइटै नाउमा खुट्टा हालेको हो कि भन्ने आमजनतामा चिन्ता देखिँदै गदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पर्वतमा गएर एउटा सन्देश दिएका छन् । त्यो के हो भने ‘ओलीले चुनाव गराउन सक्दैनन्’ भन्ने । ओलीले राज्यका सबै निकायलाई आफू मातहत राखेर भन्नलाई चुनाव भन्ने तर अनिश्चितकालसम्म सत्ता चलाउने मनसाय देखिएको सभापति देउवाले निष्कर्ष निकालेका छन् ।

पार्टी सभापति नै एउटा निक्र्योलमा आएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल हुने देखिन्छ । हुन त नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालको भेटपछि देउवाबाट यस्तो भनाइ आएको भनेर समेत अर्थ लगाउन थालिएको छ । तर, देउवाले नेकपा विभाजनको आधिकारिकता प्रमाणित नभएसम्म कांग्रेस आफ्नै ढंगले चल्नुपर्छ र यस्तो अवस्थामा ‘पर्ख र हेर’ गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

नेकपाका दुवै समूहले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ । कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिता खोजेको छ । संसद् विघटनसँगै प्राविधिक रूपमा विभाजित नेकपाको वैधानिकताको कानुनी लडाइँ निर्वाचन आयोग पुगेको छ । तर, आयोगले नेकपा विवादको निरुपण गर्न खासै चासो देखाएको छैन । प्रधानमन्त्री केपी ओलीको दबाबमा आयोग परेको बताउन थालिएको छ ।

प्रतिनिधिसभा विघटनको विरोध र अन्य कार्यक्रममा देश दौडाहामा रहेका देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको व्याख्या गरिरहेका छन् । तर, अघिल्लो आमनिर्वाचनमा पार्टीको हारको अपजस खेपेका देउवाले तीन वर्षमै प्रतिनिधिसभा विघटन भएर चुनावको घोषणालाई अवसरका रूपमा बुझेका छन् । कांग्रेसले ओलीको असंवैधानिक कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गराएर बहुमतको सरकार बन्न नसक्ने अवस्था उत्पन्न गराई मध्यावधि चुनावमा गई बहुमत ल्याएर सरकार चलाउनुपर्ने सबैको सुझाव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *