रिबन

सीमा समस्याबारे भारत नेपालसँग वार्ता गर्न तयार, परराष्ट्रमन्त्री दिल्ली जाँदै

काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमा समस्याबारे कुराकानी हुने भएको छ । नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको हो । जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदैछन् ।

नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका लागि प्रस्ताव गरिए पनि सहमति हुन सकेको थिएन । नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको यो छैटौं पटकको बैठक हो ।

यसअघि पाँचौ संयुक्त बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको सन्धिबारे छलफल भएको थियो ।

यसपटक भने नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्साको विषयमा छलफलको तयारी गरेको छ । ती भूभाग नेपालले आफ्नो नक्सामा समावेश गरे पनि अझै पनि भारतको नै कब्जामा छन् । त्यसलाई कसरी नेपालले फिर्ता गराउने भन्ने एजेन्डा बनाइएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

यस्तै, कोरोना भाइरसविरुद्धको खोपलाई पनि नेपालले प्राथमिकतामा राखेको छ । भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नेपाललाई उच्च प्राथमिकतामा रहेको बताइरहँदा नेपालले पनि बैठकमा त्यसका लागि पहल गर्ने मन्त्रालयको भनाइ छ ।

त्यस्तै विभिन्न बाँधका कारण नेपालको तराई भूमिमा वर्षेनि हुने डुबान तथा कटान, ऊर्जा, इपिजी प्रतिवेदन, सन् १९५० को सन्धि, भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा पनि बैठकमा छलफल गरिने गरी एजेन्डा तय गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्रमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेको र एजेन्डा पनि तय भइरहेको जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *