काठमाडौं । सरकारले केही देशका राजदूतले फिर्ता बोलाउने गृहकार्य सुरु गरेको छ । सत्तारूढ पार्टीमा विभाजन देखिएलगत्तै ‘कार्यसम्पादन मूल्यांकन’ का नाममा विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको हो ।
खासगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट राजदूतलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ । प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई त्यसबारे निर्देशन दिइसकेको स्रोतले बताएको छ । मन्त्री ज्ञवाली भारत भ्रमणबाट फर्केपछि यो प्रक्रिया अघि बढ्नेछ । ज्ञवाली माघ १ गते नयाँ दिल्ली जाँदैछन् ।
पहिलो चरणमा प्रचण्ड र माधवकुमार नेपालसँग बढी सम्बन्ध भएका अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कलगायत देशका राजदूतलाई फिर्ता बोलाइने भएको छ ।
केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत नेकपाको फुटले प्रभाव पारेसँगै सत्तामा रहेको ओली समूहले विदेशमा समेत त्यसको सन्देश दिने गरी कूटनीतिक वृत्तमा आफ्नो सत्ता स्वार्थको प्रभाव देखाउन चाहेको हो ।
प्रधानमन्त्री केपी ओली निकट प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई प्रचण्ड माधव नेपाल समूहले हटाउने अभियान तीव्र पारेपछि त्यसको बदला लिन ओलीले राजदूतलाई फिर्ता बोलाउन थालेको हो ।




