काठमाडौं । सरकारले फ्रन्टलाइनरलाई लक्षित गरेर कोभिडविरुद्धको खोपका लागि विवरण संकलन गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको छ ।
मन्त्रालयले बुधबारसम्म मन्त्रालयमा आइपुग्ने गरी सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सूची माग गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार गरिदिन अनुरोध गरिएको छ ।
‘हामीले सिधै स्थानीय तहलाई सूची पठाउनूस् भनेर पत्र पठाउन नमिल्ने भएकाले स्वास्थ्य मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको हो,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने। उनले भ्याक्सिन आएको एक हप्ताभित्रै पहिलो चरणको खोप लगाइसक्नुपर्ने भएकाले अहिले नै कति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनर छन् भन्ने निक्र्योल गरी सोहीअनुसार भ्याक्सिन पठाउने तयारी गरिने बताए । सरकारले भारतबाट कोभिड भ्याक्सिन ल्याउने सम्भावना प्रबल छ ।
भारतले अक्सफोर्ड र एस्ट्राजेन्काले बनाएको भ्याक्सिन उत्पादन गर्ने अनुमति सेरम इन्स्टिच्युट अफ इन्डियालाई दिइसकेको छ । सेरम इन्स्टिच्युट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो । सरकारले भारतीय सरकारसँग नेपाललाई भ्याक्सिन उपलब्ध गराउन कुटनीतिक पहल समेत गरिरहेको छ ।
साथै, सरकारले भ्याक्सिन उत्पादक कम्पनी सिरमलाई समेत पत्रचार गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिरमले जवाफ दिएको छैन । तर भारत सरकारले कोभिड विरुद्धको भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसारका भारतमा उत्पादित भ्याक्सिन नेपालका लागि भण्डारण गर्न र आयात गर्न सहज छ । नेपालले कोभ्याक्स फ्यासिलिटीबाट आउने २० प्रतिशत भ्याक्सिन आउन ढिलाइ हुने भएमा ३ प्रतिशत भ्याक्सिन खरिद गरी फ्रन्टलाइनरलाई लगाउने रणनीति बनाएको छ । सरकारले पहिलो चरणमा खरिद गर्ने वा अनुदानमा पाउने भन्ने बारेमा निक्र्योल गर्न सकेको छैन ।




