रिबन

घटेको छैन कोरोना, विश्वमा एकैदिन १४ हजार ७४८ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको उत्पत्ति भएको एक वर्ष पूरा भएको छ । चीनको वुहानमा कोरोनाबाट गत वर्ष आजकै दिन अर्थात् डिसेम्बर ३१ तारिखमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक वर्ष बितिसक्दा पनि झन् झन् कोरोना महामारी फैलिँदो छ । कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म आठ करोड ३० लाख ६७ हजार ४४ जनालाई संक्रमण भएको । १८ लाख १२ हजार १८९ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, पाँच करोड ८८ लाख ६८ हजार ८०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
बुधवार एकैदिन कोरोना भाइरसका कारण विश्वमा १४ हजार ७४८ जनाको मृत्यु भएको छ । यो संख्या विश्वमा हालसम्म एकैदिन कोरोनाबाट मृत्यु भएकाहरुमध्ये सबैभन्दा धेरै हो ।

केहीअघिसम्म दैनिक दुई तीन लाख संक्रमित हुँदै आएकोमा बुधबार सात लाख १९ हजार १७४ जनालाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ स्वरूपका कारण पनि संक्रमितको संख्यामा तीव्रता देखिएको विज्ञहरूले बताउन थालेका छन् । कोरोना भाइरसको नयाँ स्वरूप बेलायत हुँदै अहिले अमेरिका, क्यानाडा, अफ्रिका, जापान, भारतमा समेत देखिइसकेको छ ।

कोरोना भाइरसविरुद्धको खोप आइसक्दा, विभिन्न देशले धमाधम लगाइरहँदा पनि संक्रमण तीव्र फैलिनुलाई सामान्य मानिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *