काठमाडौं । सत्तारुढ नेकपा चोइटिएपछि अहिले केपी ओली र प्रचण्ड– माधव नेपाल समूह संगठन विस्तारमा लागेका छन् । प्रचण्ड नेपाल समूहले अध्यक्ष ओलीलाई कारबाही नै गरिसकेको छ । एक हुँदाका नेकपा महासचिव ओली समूहमै बसेपछि प्रचण्ड नेपाल समूहले आज महासचिव छनोट गर्दैछ ।
बिहान ११ बजेदेखि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा प्रचण्ड नेपाल नेकपाको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले महासचिव छनोट गर्ने र सडक आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । प्रचण्ड समूहमा आधा दर्जन नेता महासचिवको दौडमा छन् ।
महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरुको दावी छ। तर, बाजी भने सुरेन्द्र पाण्डले मार्ने बताइएको छ । पाण्डे झलनाथ खनाल निकट नेता हुन् ।
महासचिवमा सहमति जुटाउन दुई अध्यक्ष सहित बरिष्ठ नेताहरु बिहानै छलफलमा जुटेका थिए । प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिनामंगलस्थित एक होटलमा बसेर महासचिव चयनलगायत आजको केन्द्रीय समिति बैठकका कार्यसूची तय गरेको बताइएको छ ।




