सुपुष्पवाटिका धरा सुसभ्य जातजातिको
अनेकतासँगै छ एकता अभिन्न राष्ट्र यो
कठोर धैर्यहीन भै विभक्त बन्नु हुन्न रे !
समस्त कर्मशील हौं विपन्न छिन्न भिन्न रे ! ।१।
मिलाप मेल भैदिंदा विलाप भोग्नु पर्छ र !
अगाध स्नेह उर्वरा धरा अपूर्व उज्जर
छ जन्मजात धाम यो खुसाउँदै सदा जिऊँ
न साँच पाप पेटमा सुधीर साम्य भै दिऊँ ।२।
बिगार्छ घोचपेचले रहन्न स्नेह द्वेषले
कुकृत्य कर्म सोचले कुँडिन्छ भित्र रोषले
सहिष्णुता भलोपना अशिष्ट बन्छ व्यर्थ त्यो
अपुर्व स्वर्गभूमि यो अनन्त कालसम्मको ।३।
उदार छौँ सुभावना छ तीनकोटि देव हौँ
सुशान्ति कान्ति भाग्यले समष्टि व्यष्टि वेद हौँ
बसाउठा ऋचासँगै सुबोध बोधि बुद्धझैँ
हिमाल ओड्छ चाँदनी मधेश पाउजेबझैँ ।४।
पदम दाहाल,मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१




