काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त सहयोगलाई समेत पुनःस्थापनामा परिचालन गर्ने तयारी भइरहेको बताए।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाहले प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल बढाउनुका साथै बाढीपछिको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको बताए।
छलफलमा प्रधानमन्त्री शाहले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गरे। उनले भने, “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ।”
सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेको जानकारी दिँदै शाहले सडक पुनःस्थापना भएपछि प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहज हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री शाहले भोटेकोशी तथा अन्य नदीको तटीय क्षेत्रमा जोखिमयुक्त बस्ती पुनःस्थापना गर्न नसकिने अवस्था रहेकाले सुरक्षित स्थानमा नयाँ बस्ती विकासको तयारी थालिएको बताए। उनका अनुसार नयाँ बस्ती निर्माण गर्दा रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र स्थानीय जीवनशैलीलाई समेत ध्यान दिनुपर्नेछ।
“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ,” शाहले भने, “खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ।”
सुरक्षित स्थानमा बस्ती विकासका लागि उपयुक्त जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न उनले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधिसभा सदस्य तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने सहभागी थिए।
त्यस्तै, नुवाकोटका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी थिए।
रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी थिए।
धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) तथा तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान सहभागी थिए। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी थिए।




