काठमाडौं । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आफू र पार्टीका विषयमा चिनियाँ सरकार निकट ग्लोबल टाइम्सले लेखेको समाचारप्रति आपत्ति व्यक्त गरेका छन् । चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले ‘कांग्रेस नेता शाही र सो पार्टीले चीनले नेपालको भूमि मिचेको भनेर हल्ला फैलाएको’ भन्दै बुधबार समाचार प्रकाशित गरेको थियो ।
सो समाचारले आफू र आफू आबद्ध पार्टी कांग्रेसको चरित्रहत्या गर्न खोजेको भन्दै पूर्वमन्त्रीसमेत रहेका कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता शाहीले नेपाली जमिन एक इन्च पनि मिचेको छैन भनेर प्रमाण पेस गर्न चुनौती दिएका छन् ।
ग्लोबल टाइम्सले कांग्रेससहित, भारत र पश्चिमा शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको आरोप लगाएको थियो । शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमासमेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरु काल्पनिक नभइ तथ्यगत रहेका छन् ।’ उनले दशगजा क्षेत्रमा समेत चीनले तारबार गरेर आफ्नो तर्फ पारेको, नेपाली सुरक्षाकर्मीहरुलाई प्रवेश गर्न रोक लगाइएको, १२ नम्बर सीमा पिल्लरलाई एकतर्फी रुपमा मर्मत गरेको दाबी गरेका छन् ।





