काठमाडौं । गत वर्षको माघ फागुनसम्म नेपाली चलचित्रका निर्माता निर्देशकलाई आफ्नो सिनेमा प्रदर्शनको मिति तोक्न भ्याइ नभ्याइ थियो । प्रेमगीत ३, म यस्तो गीत गाउँछु २ लगायत चलचित्र नयाँ वर्ष वैशाखमा रिलिज गर्ने तयारीमा उनीहरू जुटेका थिए । तर, कोरोना महामारीका कारण लकडाउन घोषणापछि सबै घरमै खुम्चिए ।
झन्डै चार महिना लामो लकडाउनले निर्माता निर्देशकका आफ्ना सबै योजना धुलिसात बने । कोरोना संक्रमण बढ्दै जानु र मृत्युदर पनि बढ्न थालेपछि सबै क्षेत्र धराशयी बनेको छ । अझ सरकारले त मनोरञ्जन क्षेत्र र शिक्षालाई अहिलेसम्म खुलाएको छैन । दैनिक तीन चार हजार संक्रमित थपिन लागेपछि खुल्ने कुरै भएन ।
कोरोना नहुँदो हो त यो तिहारमा सोही चलचित्रको प्रचार प्रसारमा रेखा जुटिरहेकी हुन्थिन्
झन्डै नौ महिना लामो बन्दका कारण सिनेमा हल सञ्चालक, फिल्म वितरक तथा निर्माता निर्देशक तनावमा परेका छन् । लगानी गरेर नयाँ सिनेमा बनाउँ त हल कहिले खुल्ने हो ठेगान छैन, नबनाउँ त ब्याजमा लिएको ऋण बढेको बढ्यै ।
यही कारण अभिनेत्री रेखा थापाले ‘कसले चोर्यो मेरो मन २’ निर्माण हाललाई पोस्टपोन्ड गरेकी छन् । सो चलचित्रको निर्देशन सविर श्रेष्ठले गर्ने तयारी थियो । कलाकार पनि फाइनल भइसकेका थिए । यदि कोरोना नहुँदो हो त यो तिहारमा सोही चलचित्रको प्रचार प्रसारमा रेखा जुटिरहेकी हुन्थिन् । तर, अर्को वर्ष सिनेमा बनाउने कि वैकल्पिक पेसा रोज्ने भन्ने दोधारमा उनी पुगेकी छन् ।
यस्तै, पछिल्लो समयका सफल सिनेमा निर्माता दीपकराज गिरीले पनि निर्माणबाट हात झिकेका छन् । ‘छ माया छपक्कै २’ र ‘छक्का पञ्जा ४’ निर्माण सुरु गर्ने घोषणा गरेका दीपकराजले तत्काल सो निर्णय थाती राखेका छन् । उनी अहिले पाँच करोडको लगानीमा कृषिफर्म सञ्चालनमा जुटेको खबर बाहिरिएको छ ।
सिनेमा निर्माण र अभिनयकै लागि भनेर अभिनेता रमेश उप्रेती अमेरिकाबाट नेपाल आए । आएलगत्तै उनले ‘ऐश्वर्या’ सिनेमा बनाए । चलचित्रले राम्रै सफलता पायो । तर, नयाँ सिनेमा बनाउन जुटेकै बेला उनी फेरि अमेरिका भासिए ।
कोरोना कहरकै बेला अभिनेता सरोज खनाल पनि अमेरिका पुगे । आफ्ना परिवार सबै अमेरिकामा रहेकाले उनी पनि नेपाली चलचित्र खेल्न छाडेर हिँडेका हुन् । अझ उनको त चितवनमा पोल्ट्र फर्म छ ।
रमेश उप्रेती, सरोज खनाल, रेखा थापा मात्र होइन, दर्जनौं चलचित्रकर्मी ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । उनीहरू कोरोना कहर लम्बिँदै गएमा वैकल्पिक पेसा सुरु गर्ने वा विदेश उड्ने मनस्थितिमा पुगेका छन् ।
अहिले फाट्टफुट्ट म्युजिक भिडियो र केही हास्यटेलिसिरियल मात्र बनिरहेका छन् । तर, त्यसबाट हजारौं जनशक्ति लाभान्वित हुने अवस्था पनि छैन । कोरोनाले करिब ३० हजार चलचित्रकर्मीको रोजगारी गुमेको चलचित्र विकास बोर्डले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।




