काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई बहुमतका आधारमा स्वीकृति दिएको हो ।
बैठकमा छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए । नीति तथा कार्यक्रममाथि सरकारको पक्षमा बहुमत देखिएपछि पारित प्रक्रिया अघि बढाइएको हो ।
यद्यपि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने नीति तथा कार्यक्रम पारित प्रक्रियामा सहभागी भएन । एमालेको अनुपस्थितिबीच अन्य दलहरूको समर्थनमा कार्यक्रम पारित भएको हो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षका प्राथमिकता र कार्यदिशा तय गरेको भन्दै सत्तापक्षले यसलाई विकास र सुशासन केन्द्रित दस्तावेजका रूपमा लिएको छ ।




