ताजा समाचार

सानैदेखि मेरो स्वर राम्रो थियो

प्राकृतिक स्वरकी धनी लोक गायिका अञ्जु श्रेष्ठ ललितपुरको कुपन्डोलमा जन्मिएकी हुन् । उनले संगीतलाई व्यवसायिक रुप दिन थालेको आधा दशक नाघेको छ । अञ्जु गायनलाई स्वर र साधनाबाट प्राप्त शक्ति ठान्दछिन् । दुई दर्जन हाराहारी गीतमा स्वर पस्किइसकेकी अन्जुका गीतमा नेपाली संस्कार, संस्कृति झल्किन्छन् । उनै ख्यातिप्राप्त गायिका अञ्जु श्रेष्ठसँग संकल्प खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश : 

तपाईंको पूख्र्यौली जन्म थालो कहाँ हो ?
मेरो पूख्र्यौली थालो दोलखा हो । त्यहाँबाट मेरो बुबा ललितपुरको कुपन्डोलमा आउनुभएको हो । अहिले कुपन्डोलमा पनि घर छ ।

संगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?

म स्कुल पढ्दादेखि नै गीतसंगीत अत्यन्तै मन पराउँथेँ । स्कुलमा पनि गीत गाउने गर्दथेँ । गायन क्षेत्रमा लागेको अहिले १२ वर्षजति भयो ।

व्यवसायिक रुपले लागेको चाहीं कति भयो ?
व्यवासायिक ढंगले लागको ६, ७ वर्ष भयो । यसबीचमा १९, २० वटा गीतमा स्वर दिएकी छु ।

आफ्नै एल्बम पनि निकाल्नुभएको छ ?
मैले अहिलेको तीज गीतसहित ७ वटा आफ्नै लगानीमा एल्बम निकालिसकेकी छु । यसको अलावा गीत पनि लेखेकी छु ।

पढाइ पनि संगीत नै हो ?
मैले म्यानेजमेन्ट पढेकी हुँ । फरक क्षेत्रको पढाइ भए पनि संगीतलाई सँगै लिएर अगाडि बढ्न सफल भएँ । मैले संगीत चाहीं कलानिधि महाविद्यालयमा सिकेकी हुँ । त्यहाँ सेकेन्ड एयरमा पट पनि गरेकी थिएँ ।

मेनेजमेन्टको विद्यार्थी संगीत क्षेत्रमा आउन कसरी सम्भव भयो ?
पढाइ जुन क्षेत्रको भए पनि कला भनेको ईश्वरीय बरदान हो । पढाइ र कला भनेको फरक कुरा हो । गायनमा स्वर लिएरै आउनुपर्छ । सिकाइ भनेको आपूसँग कलालाई तिख्खर बनाउने मात्रै हो । जुन काम पनि सफल हुन आपूमा इच्छाशक्ति हुनुपर्छ । त्यसलाई घरपरिवारको सहयोगको पनि आवश्यकता पर्छ । त्यो मैले पाएकी छु ।

यो क्षेत्रमा आउन पारिवारिक सहयोग भरपुर पाउनुभयो ?
मलाई यो क्षेत्रमा ल्याउन मेरो बुबाको ठूलो साथ सहयोग रह्यो । उहाँको पहिलादेखि कै इच्छा थियो, म सिंगर बनेको हेर्ने । फेरि सानैदेखि मेरो स्वर राम्रो थियो । त्यसैले बुबा लगायत परिवारका सबैले मलाई तिम्रो स्वर राम्रो छ, संगीत सिक पछि राम्रो गायिका बन्न सक्छौं भनेर हौस्याउनुहुन्थ्यो । पारिवारिक साथ सहयोगबाटै सांगीतिक फाँटमा झांगिएकी हुँ ।

लकडाउनको बेलामा के गरेर समय बिताउनु भयो ?
लकडाउनको बेलामा मैले ४ वटा गीत रेकर्ड गरेँ । त्यसमा पहिलो लकडाउनको बेलामा जसरी स्वास्थ्यकर्मीहरु समाज सेवाभन्दा बढी आफ्नो जीवनको प्रवाह नगरी खटेको देखेर । उहाँहरुको योगदान, खटान र लगावलाई समेटेर ‘आऊ शान्तिको दीप जलाऊ, मृत्युलाई हामी जित्नेछौं’ भन्ने गीत निकालेकी थिएँ । अर्को म आफैले लेखेको ‘आँखा बन्द गरिरहेँ’ भन्ने गीत लकडाउनमै रिलिज गरेकी थिएँ । त्यसपछि ‘गुराँसको रङ्ग’ भन्ने राष्ट्र भावले ओतप्रोत गीत रिलिज गरेँ, जुन सुष्मा देवकोटाले लेख्नुभएको हो । ‘भेल्बेटको चोली’ नामक तीज गीतको अडियो रेकर्ड अघिल्लै वर्ष गरेकी थिएँ । सबैले यसको शब्द चयन एकदमै राम्रो छ भनेकाले भिडियो गरेकी हुँ ।

‘भेल्बेटको चोलीमा’ कस्तो खालको गीत हो ?
‘भेल्बेटको चोली’ नामक तीज गीतमा गाउँले परिवेस समेटेर टिपिकल शब्दहरुको छनोट गरिएको छ । गाउँका आमा, दिदीबहिनीहरु जम्मा भएर तीज मनाएको झल्को यो गीतले दिन्छ । अहिले धेरै तीज गीतहरु दोहोरी टाइपका पाइन्छन् । यो गीत दोहोरी टाइपको नभएर बिसुद्ध तीजमा आमा, दिदीबहिनीहरुले गाउँघरमा गाउने खालको छ । शब्द चयनमा पनि झर्रोपन खोजिएको छ ।

‘भेल्बेटको चोली’ तीज गीतको एक, दुई टुक्का भन्नुस् न ?
मलमलको पुरानो बर्को
रङ्ग उड्यो जेठको घामले,
मै जाउला छोडेर माइतीघर
क्यारी मन बुझाउलिन् आमाले,
सितारा जडेको फूलबुट्टे सारी, चटुक्कै सुहायो भेल्बेटको चोलीमा,
सुन्दैछौं आज मन खोलेर नाच, नौ डाँडै काटेर कहाँ पुग्छु भोलि म,

गीतको भिडियो छायांकन कहाँ गर्नुभयो ?
कीर्तिपुरमा गरेको हो । यसमा म आफै नाचेकी छ । राज सागरले संगीत संगीत दिनुभएको छ । सुष्मा देवकोटाको मौलिक शब्द समेटिएको छ । यसमा तीजको नामममा परम्परालाई नाघेर भित्र्याइएको विकृति, विसंगीतलाई केही हदसम्म हटाइ मौलिक परम्परालाई थेग्न खोजिएको छ यो गीतमा ।

भिडियोमा अभिनय गर्ने अन्य कलाकारहरु ?
यस गीतमा अभिनयको मुख्य रोल म आफैले गरेकी छु । अन्य कलाकारहरुमा अलिना तुलाधर, डिम्पल नगरकोटी, सबिता श्रेष्ठ, कविता श्रेष्ठ, सोनु श्रेष्ठ, कञ्चन के सी, भिन्तुना महर्जन र लिजा महर्जन छन् भने वेजन महर्जन र अञ्जन थापाको निर्देशन रहेको छ ।

तपाईंं मोड्लिंङ पनि गर्नुहुन्छ ?
अहिलेसम्म आफ्नो गीतमा मात्रै गरिरहेकी छु । अरुका गीतहरुमा अफर त धेरै आए । तर, आफ्नो गीतबाहेक अरुकोमा अहिलेसम्म व्यवसायिक हिसावले गरेको छैन ।

तपाईं अफिसमा काम पनि गर्नुहुन्छ, फेरि गायन क्षेत्रमा पनि कसरी समय मिलाउनुहुन्छ ?
आफूमा इच्छाशक्ति भएपछि जसरी पनि समय निकाल्नुपर्छ । जुनसुकै काममा सफल हुनको लागि सीप, सिर्जना र इच्छाशक्ति नै मूख्य कडी हो । योबिना मानिसले जतिनै समय भएपनि सफलता चुम्न सक्दैन ।

यो गीतमार्फत अहिलेको समाजलाई कस्तो सन्देश दिनखोज्नुभएको छ ?
पछिल्लो समय नेपाली बजार जतिपनि तीज गीतहरु आइरहेका छन्, तीभन्दा फरक मौलिकता झल्किने खालेको छ । माइतीमा आमाले चित्त दुखाएको कुरालाई उजागर गर्न खोजिएको छ ।
‘मै जाउला छोडेर माइतीघर,
क्यारी मन बुझाउलिन् आमाले’ ।
‘कष्टैले जन्मायौं आमा, हुकोयौं फूलजस्तै गरेर ।
जन्मेर खेलेको आँगन, जानुछ कुन खोली तरेर’
हरेक केटी मान्छेमा विहे गरेर जानुभन्दा अगाडि बिहे गरेर कस्तो ठाउँमा पर्ने हो । यो घर छोडेर म जाँदा मेरी आमाले कसरी मन बुझाउलिन् । यो तीज गीत त साच्ची नै भन्नुपर्दा आफ्नै जीवन कथालाई उतारेर निकालिएको हो । मेरो पनि एउटा भाइ छ, भोलि बुहारी कस्ती आउलिन् । उनले म बिहे गरेर गएपछि मेराी आमालाई बुहारीले हेर्छिन् कि हेदिँनन् । यस्ता भावनाहरु समेटिएका छन् । अहिलेको समाजमा यो कुरा खट्किएको पनि छ, त्यसलाई लक्षित गरेकी छु ।

विवाह कहिले गर्नुहुन्छ ?
मेरो बुबा हुनुहुन्न । एउटा भाइ छ, पहिला उसको विवाह गरेर मात्रै आफूले गर्ने विचार गरेकी छु ।

विवाह नगरेपनि लभ गर्नेहरु त होलान् नि ?
त्यसरी पछि लाग्नेहरु त भइहाल्छन् नि ।

विहेको प्रस्ताव चाहीं आएको छैन ?
प्रस्ताव राख्नेहरु पनि धेरै छन् । तर, विवाह भनेको लेखेर नै ल्याउनुपर्छ देखेको भरले मात्रै हुँदैन ।

त्यो लेखेको समय गुज्रियो कि ?
गुज्रिएको छैन, ममीले पनि लगन पछि नै छ भन्नुभएको छ । त्यसैमा ढुक्क छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *