देश

धरानका दुई सहकारीकाे १२ अर्ब रकम अनियमितता , अर्बौं बचत फसेपछि संघीय सरकारसँग गुहार

काठमाडौं । सुनसरीको धरानमा सञ्चालनमा रहेका दुई ठूला सहकारी संस्थाबाट सर्वसाधारणको अर्बौं रुपैयाँ हिनामिना भएपछि समस्या समाधानका लागि धरान उपमहानगरपालिकाले संघीय सरकारको सहयोग मागेको छ।

बराह बचत तथा ऋण सहकारी र श्रेया बचत तथा ऋण सहकारीमा गरी झन्डै साढे १२ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन भएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि स्थानीय तहले समस्या आफ्नो नियन्त्रण बाहिर पुगेको निष्कर्ष निकालेको हो।

उपमहानगरपालिकाका अनुसार बराह सहकारीबाट करिब ११ अर्ब रुपैयाँ र श्रेया सहकारीबाट १ अर्ब रुपैयाँभन्दा बढी रकम अनियमितता भएको देखिएको छ। दुवै सहकारी अहिले बन्द अवस्थामा छन् भने सञ्चालकहरू सम्पर्कविहीन रहेको बताइएको छ।

धरान उपमहानगरले सीमित कानुनी तथा प्रशासनिक स्रोतका कारण यति ठूलो वित्तीय संकट समाधान गर्न नसकिने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई औपचारिक पत्र पठाएर हस्तक्षेपको आग्रह गरेको जनाएको छ।

बराह सहकारी २०७९ सालदेखि नै समस्यामा परेको थियो भने श्रेया सहकारीलाई २०८१ सालमा समस्याग्रस्त घोषणा गरिएको थियो। दुवै संस्थालाई समस्याग्रस्त घोषणा गरिए पनि बचतकर्ताको रकम फिर्ता, सम्पत्ति व्यवस्थापन र सञ्चालक खोजीको काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

उपमहानगरले यसअघि पनि केन्द्र सरकारलाई पत्राचार गरेको भए पनि ठोस प्रगति नदेखिएपछि पुनः दोस्रो पटक सहयोग मागिएको जनाएको छ। कार्यबाहक प्रमुख अइन्द्रविक्रम बेघाले वैशाख २३ गते पुनः संघीय सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

हाल केन्द्र सरकारले देशभरका २३ सहकारीलाई समस्याग्रस्त सूचीमा राखेर व्यवस्थापन प्रक्रिया अघि बढाइरहेको छ। तर धरानका यी दुई सहकारीको समस्या अझै जटिल बन्दै गएको र हजारौँ बचतकर्ताको रकम जोखिममा परेकाले स्थानीय तहमाथि समेत दबाब बढिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *