ताजा समाचार

कोराना महामारी र श्रम बजारको भबिष्य

उत्पादनका तीन पक्ष पूँजी,लगानी र श्रम मानिन्छन । कुनै एक पक्षको अभावमा उत्पादनको कल्पना गर्न सकिदैन । तर अहिले श्रम गर्ने श्रमिकलाई उचित र सम्मानपूर्वक व्यबहार गरिदैन । कोरोनाको महाव्याधी चलिरहेको अवस्थामा लकडाउनको प्रभाबले श्रमिकहरुको आवश्यकता उद्योगी व्यबसायीहरुले महसुस गरेको देखियो । यो व्याधीबाट पार पाएपछि अझ समस्या श्रम बजारमा देखिनेछ ।
भनिन्छ हरेक बिपद् र महामारी पछि समाजमा परिवर्तन आउँछ । नेपालमा २०७२ साल बैशाक १२ गते बिनासकारी भूकम्प र त्यसैका पराकम्पहरुबाट १४ जिल्ला अति प्रभाबित भए । ६ लाख जति धरहरु प्रभाबित भए । त्यसमध्ये धरेैजसो भौतिक संरचना ध्वस्त भए । अधिकांश संरचना पुननिर्माण गनुपर्ने अवस्थामा पुगे । सीमित घरहरु कम वा बेसी मर्मत सम्भार गर्दा बस्न हुने अवस्थाका थिए । यत्रो महाबिनासपछि कुनै नयाँ अवसरहरु त आएनन बरु उर्जावान नेपाली युवाहरु रोजगारीका लागि बिदेश पलायन हुने गतिले तिव्रता पायो । रोजगारीका लागि जति बिदेश गए प्रायः सवै अदक्ष थिए र जोखिमपूर्ण काममा मात्र खपत भए । त्यस कारणले दिनहुँ करीव १० जना जति कामदारहरुको लास नेपाल आउन थाल्यो । यस्तो अवस्था खाडी मुलुकमा अत्यधिक देखियो । यो बेलामा सरकारले बिदेश पलायन हुनवाट रोक्ने कुनै वातावरण बनाएन । सरकारले नेपाली युवाहरुलाई बैदेसिक रोजगारमा जान दिनु भन्दा सीपमुलक तालिम दिएर स्वदेशमानै पुनर्निमाणको काममा लगाएको भए ६ लाख घर निर्माण वा मर्मत सम्भार गर्न औसतमा ५ जना कामदार मात्रै प्रयोग भएको अवस्थामा पनि तीस लाख कामदारहरु खपत हुन्थे । यसतर्फ न ट्रेड यूनियन न लगानीकर्ता न सरकाररले सोचे । किनभने अदक्ष श्रमिक यहि सस्तोमा पाइन्थ्यो र दक्ष कामदार पनि सस्तोमा भारतवाटै ल्याउने चलाखी गरे । यसको एउटा कारण हो श्रमिकहरुको ट्रेड यूनियन अधिकारको झन्झटबाट बच्नु । यसले नेपाली युवाहरु असुरक्षित बैदेशिक रोजगार जान बाध्य भए । पुनर्निर्माण चुनौति थियो तर तालिम दिएर काममा लगाउन सकेको भए रोजगारी सृजना हुने अवसर पनि थियो । त्यस्तो अवस्थामा खास गरी भूकम्प प्रभाबित क्षेत्रमा काम गर्न भारतीय कामदारहरु आए । अहिलेसम्म नेपालमा यस्तो काम गर्ने कामदारहरु ८५ प्रतिशत भन्दा बढीनै भारतीयहरु छन भन्ने अनुमान गरिएको छ । पुननिर्माण गर्ने चुनौति र अवसरमा रोजगारी दिने मौका नेपाल सरकारले गुमायो ।
यस पटक कोरोना भाइसरले संसारमा बितण्डा मच्चाएको छ । हाम्रै मुलुकमा २०७६ चैत्र ११ गतेदेखि लकडाउन शुरु भएको छ । उद्योग व्यापार यातायात पर्यटन आदि सवै क्षेत्र बन्द भएको अवस्था छ । कार्यथलोमा काम बन्द भएपछि काठमाण्डौ बाहिरका श्रमिकहरु पलायन भई सकेका छन ।
कोरोना भाइरसको व्याधी आउनु अघिसम्म हायर एण्ड फायर, नो वर्क नो पेको माग गर्ने रोजगारदातालाई ठूलो समस्या कामदारहरुको अभाव रहेको रहेछ भन्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसंग रोयल आचार्यले गरेको कुराकानीमा भनेका छन ः
अहिले लकडाउन केही खुकुलो गर्ने कि भन्ने कुरा उठिरहेको छ भने मजदुरहरू धमाधम काठमाडौं छाड्न थालेका छन् । सबैभन्दा पहिले उहाँहरूलाई यहीँ खानाको व्यवस्था गरेर रोक्नु पर्छ । मजदुरलाई रोजगारी पाउनुहुन्छ भन्ने जानकारी गराउनु प¥यो । लकडाउन खुलेपछि मजदुरहरू आउन ३–४ महिना लाग्न सक्छ । त्यति लामो समय उत्पादन नहुँदा समस्या पर्छ । आएका सामग्री लोड र अनलोड गर्ने श्रमिक नपाउने अवस्था आउन सक्छ । उद्योग–व्यवसाय क्रमिक रुपमा खोल्नुपर्छ । २० कर्मचारी भएको उद्योग १० जनाबाट खोल्न थालौँ । श्रमिकलाई लकडाउन नखुले पनि रोजगारी खुल्छ भन्ने विश्वास दिलाउनु पर्छ । हाम्रा युवा विदेश जाने र यहाँ काम गर्न भारतबाट आउने गरेका छन् । अहिले बाहिर भएका मान्छेहरू सबै स्वदेश फर्कने अवस्था आउन सक्छ । अब ती श्रम र सीपका विषयमा सरकारले ध्यान दिनुपर्छ
उद्योग व्यवसायी पवन गोल्यानको भनाई ःश्रमिकको कुरा पनि छ । ढुवानीलाई खुकुलो बनाउँदै उद्योगले आफ्नो आवश्यकता अनुसार कामदारको व्यवस्थापन गर्नुपर्छ । त्यसमा सरकारले सहयोग गर्नुपर्छ । हाम्रो उद्योगमा पनि चार हजार बढी कामदार १५ सय जति उद्योगभित्रै छन् । उनीहरूबाट हामीले काम सुरु गरिसकेका छौं । उद्योग सञ्चालन गरेको एक साता बढी भइसक्यो । तर त्यति कामदारले त पुग्दैन । उद्योगका कामदार काममा आउने सक्ने सूचना पनि जारी गर्नुपर्छ । कामदारलाई उद्योगसम्म पुर्याउन स्थानीय प्रशासनले भूमिका खेल्नुपर्छ । एकैचोटि धेरै भिड नहुने र कोभिड १९ को जोखिम नहुने गरी उद्योग सञ्चालनको विकल्प अब छैन ।
सरकारले उद्योगलाई मजदुर ल्याउन अनुमति दिए उद्योगले नै बाहिरबाट मजदुर ल्याउन सक्छन् र यो पनि एउटा विकल्प सोच्नुपर्छ । सबै उद्योगमा हजारौं मजुदर भित्रै बस्ने सक्ने र सामाजिक दरी कायम गरी काम गर्ने अवस्था हुँदैन । हामीले अस्थायी भए पनि थप मजदुर भित्रै बस्न सक्ने व्यवस्था गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं । अहिले बन्दै गरेको संरचाना छ, त्यसमा अस्थायी व्यवस्था गर्न सोचिरहेका छौं । यस्ता व्यवस्था गरेर उद्योगहरू जसरी पनि सञ्चालन गर्नुपर्छ । यो सहकार्य गरी अगाडि बढ्ने कुरा हो । हाम्रो उद्योगमा नभए पनि केही उद्योगमा भारतीय कामदार पनि थिए, उनीहरूले छोडेर गए । अब आउँछन आउँदैनन् ठेगान छैन । त्यसको परिपूर्ति नेपाली मजदुरबाट गर्नुपर्छ । त्यो पनि सम्भव नभएको होइन, छ । यो अवसरका रूपमा पनि देखिएको छ । यो बेलामा नेपालीले काम पायो भने रोजगारी पनि बढ्छ । यदि सीप छैन भने विस्तारै सिकाउँदै लैजान सकिन्छ । तत्कालका लागि गाह्रो हुन्छ तर पछिका लागि झन् राम्रो हुन्छ ।
निर्माण व्यवसायी महासंध ः
श्रमिकहरु, प्राविधिक, कर्मचारी, परामर्शदाता लगायत सम्बन्धित व्यक्तिहरु आ–आफ्नो घर एंव बासस्थान तर्फ गएकाले निर्माण कार्य ठप्प रहेको छ । केही समयपछि लकडाउन खुलेपनि वर्षायाम तथा खेतीपाती शुरु हुने भएकाले कामदारहरु कार्य क्षेत्रमा जान मानसिक रुपमा तयार नहुने अवस्था आउछ । त्यसपछि दशैं तिहार, छठ लगायतका चाडपर्व आउने भएकाले २०७७ सालको मंसिर पहिलो हप्तासम्म योजना संचालनमा आउन नसक्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुने गरी निर्माण उद्योगमा रोजगारी पाउने गरी दक्ष जनशक्ति उत्पादन हुने र त्यसका लागि विभिन्न तालिम कार्यक्रम संचालन गर्दै बेरोजगारहरुलाई तालिमबाट प्रोत्साहन गरेर निर्माण उद्योगका लागि जनशक्ति तयार गर्ने सहुलियत सहितको कार्यक्रमहरु संचालनमा ल्याउनु पर्ने संघको सुझाव छ । जारी लकडाउन खुलेता पनि कामको लागि कामदार र स्थानीय मानसिक रुपमा तयार नहुने, वर्षायाम शुरु हुने र दशैं तिहार छठ लगायतका चाँडपर्व पर्ने महासंघको विश्लेषण छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिएको जानकारी अनुसार कोभिड १९ का कारण पर्यटकीय गतिविधि शून्यमा झरेको छ । यसले यातायात (हवाई, सडक), होटेल, ट्रेकिङ(ट्राभलसहित अन्य पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरको रोजिरोटी गुमिरहेको छ । कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था देखिएको छन् । पर्यटन क्षेत्रमा मात्र करीव ८र ९ लाख प्रत्यक्ष रोजगारी रहेको अनुमान गरिएको छ ।
कोरोना भाईरसको कारणले नेपाली युवाहरुको रोजगारीको गन्तब्य मलेसिया वा खाडी मुलुक पनि आक्रान्त छ । सवै उद्योगहरु बन्द छन । त्यहाँ नेपाली कामदारहरुको बिचल्नीका खवरहरु आईरहेका छन । खान बस्नको समस्यावाट बञ्चित छन । स्वदेश फिर्न चाहान्छन तर आउन सक्ने अवस्था छैन । यहाँ पुनस्थापना हुन निकै लामो समय लाग्ने र निकै महंगो पर्ने प्रष्टै देखिन्छ । त्यहाँ पनि आर्थिक गतिबिधि सुन्य छ । भबिष्यमा ती मुलुकमा पनि नेपाली कामदारका लागि अवसर समाप्त प्रायः भएको छ । रेमिट्यान्स वा अन्य कारणले नेपालको अर्थतन्त्रमा यसले प्रभाव पार्ने निश्चित छ । नेपालमा पनि श्रम बजारको सम्वन्धमा पनि रोजगारदाता र सरकारले गम्भिरतापूर्वक दीर्धकालीन सोच निर्माण गर्न अहिलेदेखिनै शुरु नगरे भबिष्यमा पछुताउनु पर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्पूर्ण श्रमिक बर्गमा हार्दिक मंगलमय शुभ कामना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *