गण्डकी। पोखरामा सञ्चालित विभिन्न आयुर्वेद अस्पताल तथा क्लिनिकमा गैरकानुनी र गुणस्तरहीन औषधि खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रका आयुर्वेद अस्पताल र क्लिनिकमा अवैध तथा म्याद गुज्रेका औषधि फेला परेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार औषधि व्यवस्था विभागबाट स्वीकृति नलिएका र म्याद समाप्त भएका औषधि बरामद गरी नष्ट गरिएको छ ।
उनले अधिकांश अस्पताल तथा क्लिनिकमा गैरकानुनी रूपमा औषधि बिक्री भइरहेको पाइएको भन्दै आयुर्वेद उपचारका नाममा बढ्दो विकृति नियन्त्रण गर्न अनुगमन कडा पारिएको बताए ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्रबिनै काममा लगाएका संस्थालाई आवश्यक कागजातसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
सञ्चालन अनुमति नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिक लाई तत्काल बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमति लिन सचेत गराइएको प्रशासनले जनाएको छ ।
अनुगमन टोलीमा सहभागी गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिएका औषधि बिक्री गर्न नपाइने स्पष्ट पारे ।
उनले कानुनी मान्यता नपाएका तथा गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रिने क्रम बढेकाले अस्पताल र क्लिनिक स्वयं सचेत हुनुपर्ने बताए ।
पोखराका पोखरा हेल्दी होम्स का कविराज अस्मिना बञ्जराले अनुमति नलिई औषधि उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे ।
अनुगमनका क्रममा कतिपय क्लिनिकमा आयुर्वेद विषयको ज्ञान नभएका व्यक्तिले समेत औषधि बिक्री गरिरहेको पाइएको थियो ।
बुद्धचोक र अमरसिंहचोक क्षेत्रमा सञ्चालित धेरैजसो आयुर्वेद अस्पताल तथा क्लिनिकमा अस्पतालको न्यूनतम पूर्वाधारसमेत नभएको उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ले बताए ।
अनुगमन टोलीले मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड हटाउनसमेत निर्देशन दिएको छ ।
यस क्रममा नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिक मा अनुगमन गरिएको थियो ।




