ताजा समाचार

नेपालीहरुको उपचारको ग्यारेन्टी गरिएको छः चीन

काठमाडौं।चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको बताएको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरुको उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको हो । ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ’ जारी विज्ञप्तिमा लेखिएको छ ।

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’ नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान र्पुयाउने छौं ।’ चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *