देश

दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर आन्दोलनको तयारी भइरहेको बताए ।

उनले वर्तमान सरकारले सुकुमबासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन र ज्यादती गरेको आरोप लगाए ।

चाडपर्वपछि देशको राजनीतिक परिस्थिति मूल्याङ्कन गर्दै सरकारका गतिविधिविरुद्ध ‘नयाँ प्रतिवाद र नयाँ आन्दोलन’ अघि बढाउने तयारी भइरहेको उनको भनाइ थियो ।

प्रचण्डले सरकारका गतिविधिका कारण जनतामा रहेको भ्रम हट्दै गएको र स्थापित राजनीतिक दल तथा नेताहरूप्रति पुनः आकर्षण बढिरहेको दाबी गरे ।

वर्तमान सरकारले नागरिकका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै उनले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढिरहेको समेत दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *