काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव (नेत्रविक्रम चन्द ‘विप्लव’)बीच आइतबार बिहान दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका दुई कम्युनिस्ट नेताबीचको यो वार्ता राजनीतिक समीकरण, एकताको सम्भावना, तथा समाजवादी मोर्चाको भविष्यमाथि केन्द्रित रह्यो।
भेटको सुरुवातमै महासचिव पोखरेलले विप्लवको कृषि कर्म र आत्मनिर्भर उत्पादन प्रणालीको प्रशंसा गरे। उनका अनुसार विप्लवको खेती प्रणालीले मुलुकभर सकारात्मक सन्देश दिएको छ। उत्पादन र नाफाबीच सन्तुलन कायम गरी श्रमलाई प्राथमिकता दिँदा अर्थतन्त्रमा राम्रो योगदान पुग्न सक्छ,ू पोखरेलले भनेको स्रोतले जनाएको छ।
विप्लवले पनि पोखरेललाई ‘दोस्रो पुस्ताका सशक्त वैचारिक नेता’ भनेर प्रशंसा गरे। भेटमा सहभागी एमाले अन्तर्राष्ट्रिय विभागका सदस्य गोपाल खनाल र नेकपाका अन्तर्राष्ट्रिय विभाग सचिव खगेश्वर केसीले यो भेट कम्युनिस्ट आन्दोलनको भविष्यबारे रणनीतिक संवाद भएको बताए।भेटमा नेताहरूबीच नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकताको प्रयास र समाजवादी मोर्चाको निष्क्रियतामाथि आलोचनात्मक चर्चा भयो।
विप्लवले भने, “सुरुमा एकताको कुरा राम्रोसँग उठाइएको थियो, तर अहिलेको अवस्था हेर्दा प्रचण्डजीको इच्छाशक्ति प्रष्ट देखिंदैन।”
पोखरेलले समेत प्रचण्डको बोली र व्यवहारबीचको फरक उल्लेख गर्दै ूविश्वास गर्न कठिनू रहेको धारणा व्यक्त गरे। समाजवादी मोर्चाको सन्दर्भमा दुबै नेताको साझा निष्कर्ष थियो— यो मोर्चा अहिले निष्क्रिय छ र स्थापना उद्देश्य अनुरूप काम गर्न सकेको छैन। मोर्चा गठनको उद्देश्य सन्देहास्पद देखिएको छ, विप्लवको भनाइ स्रोतले उद्धृत गरेको छ।
दुबै नेताले नेपालका कम्युनिस्ट पार्टीहरूबीच विचारधारात्मक स्पष्टता र संगठनात्मक ध्रुवीकरण आवश्यक रहेकोमा सहमति व्यक्त गरे। विप्लवले पोखरेलको सैद्धान्तिक क्षमतालाई आगामी एकता प्रयासमा सकारात्मक रूपमा प्रयोग गर्न सुझाव समेत दिएका छन्। विप्लवले ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नहुँदा आफ्ना कार्यकर्ता अझै जेलमा रहेको भन्दै पोखरेलको ध्यानाकर्षण गराएका थिए। पोखरेलले यस्ता छलफलहरू निरन्तर चलिरहने प्रतिबद्धता जनाएका थिए।
भेटपछि विप्लव अर्को भेटघाटका लागि छुट्टिए भने सोही दिन उनले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि छुट्टै छलफल गरेका थिए।
शंकर पोखरेल र नेत्रविक्रम चन्दबीचको यो वार्ता केवल शिष्टाचार भेट नभई कम्युनिस्ट आन्दोलनको पुनर्संयोजन, असन्तुष्टिहरूको समीक्षा, र भावी रणनीतिमाथिको संवादको संकेतस्वरूप देखिएको छ। आगामी दिनमा यस्ता भेटघाटले नेपाली वाम राजनीतिमा नयाँ सम्भावनाहरू खोल्ने सम्भावना प्रष्ट देखिन्छ।




