काठमाडौं । नेपाली कांग्रेसबाट एक वर्षका लागि निष्कासन भएका खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले आफूमाथि गरिएको कारबाहीलाई सम्मानपत्रको रूपमा स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्। २०७९ सालको निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोपमा कांग्रेसले उनलाई अनुशासन उल्लंघनको कारण देखाउँदै निष्कासन गरेको हो। पार्टीको अनुशासन समितिले बुधबार उनीमाथि कारबाहीको निर्णय सुनाएको थियो।
निष्कासनपछि राईले भने, “राजनीतिमा सधैं उपलब्धि मात्र हुँदैन, गुमाउनु पनि पर्छ। मैले ३५ वर्षको निरन्तर राजनीतिक यात्रामा उकाली–ओराली पार गरेको छु। गठबन्धनको क्रममा खोटाङ कांग्रेसमाथि भएको अन्याय सह्य थिएन, त्यसैविरुद्ध लडेँ।” उनले केन्द्रको निर्णयप्रति व्यंग्यात्मक लहजामा प्रतिक्रिया दिँदै थपे, “केन्द्रले मलाई सम्मानपत्र पठाएको छ, म हार्दिक ग्रहण गर्छु।”
कांग्रेस अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले राईलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको पुष्टि गरेका छन्। उनीमाथि गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको ठोस प्रमाण भेटिएको पार्टीको दाबी छ।




