काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेका विवादास्पद मुद्दाहरू समाधान नगरी प्रतिनिधिसभाको कार्यसूची जबर्जस्ती अघि बढाउन खोजिएकोप्रति कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो प्रवृत्तिले संसदीय मर्यादाको उल्लंघन हुने र बहस, सहमति तथा समन्वयमा आधारित लोकतान्त्रिक अभ्यासमा आँच आउने बताए। उनले राप्रपा यस्तो प्रक्रियामा सहभागी नहुने चेतावनी पनि दिए।
लिङ्देनले नेपालको निर्वाचन प्रणालीले साना–ठूला सबै दलको विचार समेट्ने व्यवस्था गरेको उल्लेख गर्दै भने, हामीले यस्तो निर्वाचन प्रणाली बनाएका छौँ, जहाँ एक सिट पाएको दलले पनि संसद्मा सम्मानजनक प्रतिनिधित्व पाउँछ। त्यसैले सानो या ठूलो दल भन्ने मानसिकता त्याग्नुपर्छ । उनको भनाइमा दलहरूको मतको संख्या जति फरक भए पनि विचारको सम्मानमा सबै समान छन्। उनले सभामुखलाई सबै दलको अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरे।
राप्रपा अध्यक्ष लिङ्देनले दुई प्रमुख दलबीच संसदमा मतभेद कायम रहँदासमेत कार्यसूची जबर्जस्ती अघि बढाउने प्रयास गैरजिम्मेवार हुने टिप्पणी गरे। समस्या समाधान नगरी संसद् अगाडि बढाउनु न संसदीय अभ्यास हो, न नै जनताको अपेक्षाअनुसारको लोकतन्त्र,उनले भने।
यस्तो अवस्थामा राप्रपाले संसदको बैठक बहिष्कार गर्ने निर्णय लिन सक्ने स्पष्ट पार्दै लिङ्देनले थपे, ूयदि संसदलाई कर्मकाण्डजस्तै बनाइयो भने हामी त्यसमा सहभागी हुने छैनौं। त्यस अवस्थामा हाम्रो नाममा आउने बैठक भत्ता पनि फिर्ता गरिदिन अनुरोध गर्छौं। यो चेतावनी संसदभित्र निषेधात्मक व्यवहार र विचारको असहिष्णुताविरुद्धको प्रतिरोधका रूपमा आएको हो।




