काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पुनर्स्थापनामा राष्ट्रिय सहमति भए वर्तमान राजपरिवारका सदस्य हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको छलफलमा बोल्दै थापाले पात्रभन्दा पनि संस्थालाई प्रमुख मानेर अघि बढ्नुपर्ने धारणा राखे।
थापाले संविधानले शान्तिपूर्ण आन्दोलनको अधिकार दिएको भन्दै राप्रपा नेपालले जेठ १५ मा आयोजना गर्न लागेको कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण हुने दाबी गरे। हामी भिडन्तको पक्षमा छैनौं, हाम्रो आन्दोलन शान्तिपूर्ण, लोकतान्त्रिक र संविधानमै आधारित हुनेछ, उनले स्पष्ट पारे।
त्यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमाथि जेठ १५ गतेको कार्यक्रम भड्काउन खोजेको आरोप लगाए। उनले प्रधानमन्त्रीले रत्नपार्कनजिकै प्रतिवाद कार्यक्रम गर्न निर्देशन दिएको भन्दै सो कदमले ‘मुठभेड निम्त्याउने रणनीति’ देखिएको जिकिर गरे।
लिङ्देनले कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने जानकारी दिँदै, राजसंस्था कुनै दलको विषय नभइ ‘राष्ट्रिय एकताको प्रतीक’ को रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।
थापा र लिङ्देन दुवैले राजसंस्था पुनर्स्थापनाको बहसलाई लोकतान्त्रिक ढंगबाट अघि बढाउने प्रतिबद्धता जनाए। उनीहरूले नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा राजा अभिभावकीय भूमिकामा आवश्यक रहेको तर्क गरे।
राजावादी आन्दोलन पुनः उकालो लाग्ने संकेत गर्दै नेताहरूले संविधान र शान्तिपूर्ण राजनीतिक अभ्यासको सीमाभित्रै रहेर आवाज उठाउने बताएका छन्। सरकार र सुरक्षानिकायले पनि यस्तो कार्यक्रममा संवेदनशील भएर प्रतिक्रिया जनाउनुपर्ने उनीहरूको सुझाव छ।




