राजनीति

संसदको अवरोध हटाउन सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको अडान कायमै राख्दै प्रतिपक्षले प्रतिनिधिसभा अवरुद्ध गरेको छ। संसद सञ्चालनमा अवरोध आएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग आपतकालीन छलफल थालेका छन्।

मंगलबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै प्रमुख दलका सचेतकहरूको सहभागिता छ। विपक्षी दलहरू—माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) —ले गृहमन्त्रीको नाम भिजिट भिसा विवादमा जोडिएको भन्दै राजीनामा र छानबिन आयोग गठनको मागमा कठोर अडान लिएका छन्।

यता, सत्तारूढ दल एमाले र नेपाली कांग्रेस भने गृहमन्त्री रमेश लेखकलाई संसदमा स्पष्टीकरण दिने मौका दिनुपर्ने पक्षमा छन्। तर, सत्ता र प्रतिपक्षबीचको मतभेद टुंगोमा पुग्न सकेको छैन। यसअघि भिजिट भिसा प्रकरणकै कारण संसद बैठक प्रभावित भएपछि सभामुखले छलफलका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर, सहमति नजुटेपछि साढे दुई बजेका लागि तय गरिएको बैठकसमेत सुरु हुन सकेको छैन।

राजनीतिक संवाद भए पनि समाधान टाढा देखिँदै गर्दा संसद पुनः संचालन हुने सम्भावना अहिलेसम्म स्पष्ट छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *