काठमाडौं । प्रतिनिधिसभा बैठक आज मंगलबारसम्म स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक स्थगनको घोषणा गर्दै अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।
आजको बैठकमा नेताहरूले आकस्मिक शून्य समयमा धारणा व्यक्त गरेपछि, केही महत्वपूर्ण विषयहरूमा छलफल भएको थियो। बैठकमा नेपालको संविधानको धारा ५३ र सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ अनुरूप नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरिएको थियो, जसमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का विषयहरू समेटिएका थिए।
त्यसै गरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्तावमा सैद्धान्तिक छलफल भए पछि, मन्त्री पाण्डेले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए र त्यसपछि उक्त विधेयक स्वीकृत भएको हो। अब ७२ घण्टाभित्र संशोधन प्रस्ताव माग गरिएको छ।
कार्यसूचीको चौथो विषय, जसमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल गरिने र पारित गरिने प्रस्ताव रहेको थियो, हटाइएपछि बैठक स्थगित गरिएको हो।




