राजनीति

“डकुमेन्ट मसँग छ”- विमानस्थल अनियमितताको आरोप पुष्टि गर्नुहोस् : योगेश भट्टराई

काठमाडौं । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी आरोपप्रति पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले तीव्र प्रतिक्रिया जनाएका छन्।

भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक चुनौती दिँदै आफू मन्त्री रहेका बेला कुनै गलत निर्णय नगरेको स्पष्ट पारेका हुन्। उनले पोखरा र भैरहवा विमानस्थलमा अनियमितताको आरोप प्रमाणसहित पुष्टि गर्न सञ्चार माध्यमहरूलाई चुनौती दिएका छन्।

“मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई नोक्सानी पुर्‍याएको छ भने प्रमाणसहित सार्वजनिक गर्न म तयार छु,” भट्टराईले भनेका छन्, “प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती दिन्छु।”

उनले सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचारमा लिप्त भएकाहरूले अब अरूलाई दोष थोपर्न खोजेको आरोप लगाएका छन्। “काँक्रा आफू खाने, बियाँ अर्काको निधारमा टाँस्नेमा खप्पिसहरू मिडिया ट्रायलबाट उम्किन सकिने आशमा छन्, तर म चुप लाग्दिन,” उनले लेखेका छन्।

पोखरा विमानस्थलबारे लेखा उपसमितिले झण्डै १० अर्ब रुपैयाँको अनियमितता र भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेपछि यो विषय फेरि चर्चामा आएको हो। भट्टराईले आफूविरुद्ध आवाज उठाउनेहरू नै दोषी हुन सक्ने संकेत गर्दै लेखेका छन्, “मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसँग छ, आवश्यक परे सार्वजनिक गरौंला।”

उनको यस्तो कडा प्रतिक्रिया राजनीतिक र कानुनी रूपमा नयाँ बहसको सुरुआत भएको विश्लेषण गरिएको छ। अब यो विषयमा थप खुलासा हुने सम्भावना बलियो देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *