काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले चैत १५ गते तीनकुनेमा भएको घटनाबारे सरकारलाई निष्पक्ष छानबिन आयोग गठन गर्न आग्रह गरेका छन्। उनले बल्खुमा आयोजित खबरदारी सभामा बोल्दै, छानबिन आयोग बिना सच्चा प्रजातन्त्रमा जनताको विश्वास घट्ने बताएका हुन्।
तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई निसर्त रिहा गर्न पनि उनले माग गरे। “यो मुलुक पुन्यभूमि हो, यसको चिनारी हिन्दु धर्म हो,” भन्दै उनले सरकार र ठूला दलहरूलाई लोकतान्त्रिक मूल्यको रक्षा गर्न आग्रह गरे।
चैत १५ मा दुर्गा प्रसाईंको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरू र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो। सोही घटनालाई लिएर राणा लगायत नेताहरूले ‘सरकारको दमनकारी नीति’ को आलोचना गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्।
राणाले भन्यो–दोषीलाई कानुनी प्रक्रिया अनुसार कारबाही होस्, निर्दोषलाई नछुनु न्यायको पहिलो सर्त हो। राप्रपाले घटनाको निष्पक्ष छानबिन नहुँदासम्म संघर्ष जारी राख्ने चेतावनी पनि दिएको छ।




