काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनः स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।
राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा थनप्रदर्शन तथा आमसभा गर्दैछ । विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झन्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुलाई आग्रह समेत गरेका छन् ।
गत चैत्र १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईको राजावादीको आन्दोलनलाई सो सघाएको थियो । उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । काठमाडौँ उपत्यकामा एक पत्रकारसहित दुई जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनपछि नेपालमा राजावादी किन चाहिने भन्दै राजनीति वृत्तमा चर्को आलोचना जारी छ । उक्त विध्वंसकारी आन्दोलनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड आगजनी गरेको थियो । सो आन्दोलनमा सहभागी भएको आरोपमा राप्रपाका दुई नेता अहिले हिरासतमा छन् ।





