
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्। तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा फोहोर तथा तोडफोड भएको भन्दै महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र पठाएको थियो। तर, उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटमै रोकिएको र पत्र बुझ्न अस्वीकार गरिएपछि फिर्ता जानु परेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
कानुनी प्रक्रियाबाट असुली गर्ने तयारी
पूर्वराजाले जरिवाना पत्र अस्वीकार गरेपछि महानगरपालिकाले कानुनी प्रक्रियाबाट जरिवाना असुल गर्ने तयारी थालेको छ। महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार, पत्रिका मार्फत सार्वजनिक सूचना जारी गर्ने वा हुलाकमार्फत पठाउने विकल्प अपनाइनेछ।
यदि यी माध्यमहरूबाट पनि जरिवाना असुल हुन सकेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कानुनी रूपमा कारबाही अघि बढाइने उनले बताए। ऐनको दफा ४९ अनुसार, केन्द्रीय तहसिल कार्यालयमार्फत लगत कायम गरी जरिवाना असुल गर्न सकिने व्यवस्था छ। महानगरपालिकाले अबका दिनमा कडा रूपमा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।