
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको बन्दसत्र आइतबार दोस्रो दिन पनि जारी छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा शनिबारदेखि सुरु भएको बन्दसत्रमा समूहगत छलफल भइरहेको नेता जागृत रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार सम्मेलनमा पार्टीको आगामी समाजवादी कार्यदिशा, वैचारिक, राजनीतिक विचारधारा तथा सङ्गठनात्मक सिद्धान्तबारे बहस भइरहेको छ । देशभरबाट २५० प्रतिनिधि सहभागी भएको यस सम्मेलनले केही सचिवालय सदस्य हेरफेर हुने उनले जानकारी दिए ।
‘बन्दसत्रमा महासचिवले पेस गरेको पार्टीको आगामी समाजवादी राजनीतिक कार्यदिशा, सङ्गठनात्मक दस्ताबेज पेस भएको छ । विगतमा कम्युनिस्ट पार्टीले प्रयोग गरेका विचारधारात्मक तथा सङ्गठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने रायमाझीले जिकिर गरे ।
यस्तै पार्टीको तल्ला समितिलाई सार्वभौम बनाउन तीनवटा योजना ल्याएको उनले दाबी गरे । रायमाझीका अनुसार पहिलो उत्पादनसम्बन्धी काम रहको छ । उत्पादनलाई अनिवार्य गरिएको छ । उत्पादन नभई सार्वभौम समिति नबन्ने उनको ठम्याइ छ । दोस्रो वैचारिक राजनीतिक काम रहेको छ भने तेस्रो वर्ग संघर्षका काम हुनेछ । यी तीन काम सँगसँगै लिएर जाने नीति पार्टीले अगाडि सारेको रायमाझीले जानकारी दिए ।
‘