काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिन भ्रमणमा जाने तयारीमा जुटेको बेला चीन भ्रमणमा जाँदा आँफूले छिमेकी देश चीनसंग विभिन्न अवधारणा र सहयोगको प्रस्ताव गर्ने बताएका छन । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उचाइमा पुर्याउने र विगतमा भएका केही समझौताका विषयमा पनि कुरा उठाउने बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले चीन भ्रमणको मुख्य विषय नै दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेतर्फ केन्द्रित रहेको बताए ।
मंगलबार प्रतिनिधिसभामा सांसद उदयशम्सेर राणाले प्रधानमन्त्रीलाई चीन भ्रमणका प्राथमिकता र एजेन्डाका विषयमा कुरा उठाएपछि प्रधानमन्त्तीले दुई देशको सम्बन्धलाई जोड दिँदै यसअघिका भ्रमणमा भएको सम्झौता कार्यान्वयनको विषय रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीले नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहेको बताउँदै यसबाहेक, नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत उनले बताए ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र व्यापार मुख्य एजेन्डा रहेका छन् । विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी योजना पनि चीनको सहयोगमा अघि बढाउने योजना रहेको उनको दाबी छ । अब भारत पछि चीन संग जलविद्युत निर्यात गर्ने बाटो बन्ने हो की भन्ने धेरैलाई आशा छ ।




