राजनीति

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन नसकेको गोकर्ण विष्टको आरोप

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए । ‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्‍यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौं।”

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे ।

‘आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औं महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ,’ उनले भने ।

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने, ‘यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन्।’

नेकपा एमालेसँग करिब साढे दुई वर्ष प्रचण्ड मिल्दा एमालेको बलियो सङ्गठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उनले प्रचण्डले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको टिप्पणी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *