राजनीति

प्रदेश संरचना खारेज गर्न राप्रपाको सरकारलाई सहयोग गर्ने शाहीको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्न दुई तिहाइ मत आवश्यक परेमा आफ्नो पार्टीले साथ दिने बताए ।

उनले मुलुकमा हिन्दु राज्य स्थापना गर्न तथा राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग मागे आफ्नो पार्टीले साथ दिने पनि स्पष्ट पारे ।

नेता शाहीले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन राप्रपा सदैव पहल गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने, “आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने कुरा त हामीले संसदमा उभिएर नै भनिसकेका छौँ । तपाईँहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुहुन्छ, राजासहितको प्रजातन्त्र अवलम्बन गर्नुहुन्छ भने संविधान संशोधनका लागि सिट अपुग भएमा हामी पाँच सिट दिन्छौँ, १८७ सिट पुग्छ, संविधान संशोधन गरौँ भनेर हामीले घोषणा गरिसकेका छौँ । यो हाम्रो शक्ति हो, यो एजेण्डा हो, यो मरेर मर्दैन । हामी सुशासनको पक्षमा हिजो पनि लडेका थियौँ, आज पनि लडिरहेका छौँ र भोली पनि लडिरहन्छौँ ।”

सो अवसरमा नेता शाहीले फरक मत राख्ने सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *