काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ। ग्रामीण विकासम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ।
फाउन्डेसन टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ।
बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी रहेको छ। विशेष गरी बाढीबाट बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ।
फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती प्रदान गरेको छ। यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ।




