देश

काँग्रेस विभाजनको अन्तिम डिलमा पुगेको छ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन् ।

खड्काले आइतबार सामाजिक सञ्जालमार्फत सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताएका हुन् ।

पार्टीभित्र दुई पक्षले १५औँ महाधिवेशनको मिति तय गरी समानान्तर गतिविधि गरिरहेका बेला कुनै पक्षमा नखुलेका खड्काले आफू पार्टी विभाजन रोक्ने प्रयासमा रहेको स्पष्ट पारेका छन् ।

उनले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको भन्दै आफूले सर्वोच्च अदालतमा पुनरावलोकनको मागसहित मुद्दा दायर गरेको बताएका छन् । उक्त मुद्दा अहिले विचाराधीन रहेकाले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशन प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ ।

महाधिवेशनका गतिविधि रोक्न अदालतमा निवेदन दिए पनि अदालतले कार्यतालिका रोक्न आदेश नदिएको र यसले दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काले बताएका छन् ।

उनले विद्यमान राजनीतिक गम्भीरतालाई ध्यानमा राख्दै सर्वोच्च अदालतलाई विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाउन आग्रह गरेका छन् । मुद्दालाई अग्राधिकारमा राखी फैसला गर्न अनुरोध गर्दै उनले अदालतको अन्तिम फैसला आफूहरूलाई पूर्ण रूपमा स्वीकार्य हुने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *