काठमाडौँ । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, पदबाट हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन् ।
उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको थियो । तीन नेताले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले थप छलफल गरी साझा प्रतिवेदन तयार गरेको उनले बताए ।
बस्नेतका अनुसार एमालेले तत्काल विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन नबोलाउने सहमति गरेको छ । तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय उठ्न सक्ने र त्यसलाई रोक्न नसकिने उनले बताए ।
यस्तै, नियमित विधान महाधिवेशनमा पार्टीका विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनले बताए । ७० वर्षे उमेर हद र दुई कार्यकाललगायतका विषय पनि नियमित विधान महाधिवेशनमा छलफलको विषय बन्न सक्ने उनको भनाइ छ ।
कार्यदलले पार्टीको एकता सुदृढ गर्ने तथा वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको बस्नेतले जानकारी दिए ।
‘एमाले विवादित होस् र पार्टी फुटोस् भन्ने चाहना राख्ने शक्तिहरू सक्रिय रहेको परिवेशमा कार्यदलले बलथली बैठकपछि तीन नेता रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शङ्कर पोखरेललाई विभिन्न मस्यौदा तथा १३ समूहबाट आएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो । उहाँहरूले आज एकीकृत प्रतिवेदन प्रस्तुत गर्नुभयो,’ उनले भने ।
प्रतिवेदनमाथि भएको छलफलपछि अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय नरहेको स्पष्ट गरिएको उनले बताए ।
बस्नेतका अनुसार १३ वटा समूहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा समावेश गरिनेछ । कार्यदलको साझा प्रतिवेदन आइतबार सचिवालय बैठकमा र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।
कार्यदलले तयार गरेको २९ पृष्ठको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको जानकारी दिँदै बस्नेतले प्रतिवेदनबारे बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भएका प्रचारबाट भ्रममा नपर्न आग्रह गरेका छन् ।




