देश

काभ्रेका ग्रामीण बस्तीमा एक वर्षमा थपिए एक हजारभन्दा बढी खानेपानीका धारा

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकका ग्रामीण तथा खानेपानीको पहुँच कमजोर रहेका क्षेत्रमा खानेपानी पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ। प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिन्धुपाल्चोकले एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहमा एक हजारभन्दा बढी नयाँ धारा जडान गरेको हो।

कार्यालयका अनुसार यस अवधिमा काभ्रेपलाञ्चोकमा ५५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन्। ती आयोजनाबाट ४ हजार ७२ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको कार्यालय प्रमुख श्रृष्टि ख्वालापालाले जानकारी दिइन्।

सबैभन्दा धेरै नयाँ धारा भुम्लु गाउँपालिकामा ३३८ वटा जडान भएका छन्। त्यस्तै रोशीमा ३०६, पनौतीमा १८८, नमोबुद्धमा ५५, पाँचखालमा ४१, चौरीदेउरालीमा ४१, खानीखोलामा ३६ र मण्डनदेउपुरमा १४ वटा धारा निर्माण गरिएको छ।

खानेपानी पूर्वाधार विस्तारतर्फ बनेपामा ६, पनौतीमा ३, धुलिखेल, बेथानचोक र महाभारतमा एक/एक, नमोबुद्धमा ९, पाँचखालमा ४ तथा मण्डनदेउपुरमा ५ वटा आयोजना सम्पन्न भएका छन्।

यसैगरी रोशीमा ६, खानीखोलामा ४, तेमालमा २, भुम्लुमा ३ र चौरीदेउरालीमा १० वटा खानेपानी आयोजना सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

प्रमुख ख्वालापालाका अनुसार प्रदेश सरकारको बजेटमार्फत विशेषगरी ग्रामीण क्षेत्रमा आयोजना सञ्चालन गरी खानेपानीको पहुँच विस्तार भइरहेको छ। चालु आर्थिक वर्षमा बनेपा, धुलिखेल, बेथानचोक, महाभारत र तेमालमा नयाँ धारा जडानका थप योजना अघि बढाउने प्रक्रिया सुरु भएको छ। अन्य स्थानीय तहमा भने क्रमागत रूपमा करिब दुई दर्जन आयोजना निर्माणाधीन छन्।

एक वर्षमा एक हजारभन्दा बढी नयाँ धारा थपिनुले खानेपानीको पहुँच कमजोर रहेका बस्तीमा आधारभूत पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानी बढेको देखाउने उनले बताइन्।

कार्यालयका अनुसार यस अवधिमा ५० दशमलव ५८ किलोमिटर मुख्य ट्रान्समिसन पाइपलाइन र १०९ दशमलव ५५ किलोमिटर वितरण पाइपलाइन विस्तार गरिएको छ। साथै ४७ वटा पानीपोखरी र १८ वटा पम्पघर निर्माण भएका छन्।

खानेपानीका स्रोत संरक्षण तथा पुराना ढुङ्गेधाराको मर्मत–पुनःस्थापनालाई समेत आयोजनामा समेटिएको छ। सात वटा पानीका स्रोत संरक्षण तथा ढुङ्गेधारा मर्मत–पुनःस्थापना गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी ३७० मिटर ढल, ३९ वटा भल्भ च्याम्बर, दुईवटा कलेक्सन च्याम्बर, तीनवटा वासआउट च्याम्बर र तीनवटा ब्रेक प्रेसर ट्याङ्की निर्माण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *