काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन तयारी तीव्र पारेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा शुक्रबार कोष, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा तीज पर्व २०८३ को सुरक्षा तथा व्यवस्थापनसम्बन्धी समन्वय बैठक बसेको थियो ।
बैठकमा पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, दर्शन तथा पूजा–आराधनालाई सहज बनाउने, सरसफाइ तथा अन्य आवश्यक व्यवस्थापनका विषयमा छलफल भएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
तीज पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले सातवटा उपसमिति गठन गरी तयारी अघि बढाएको छ । अनुगमन उपसमितिको संयोजक सदस्य सचिव श्रेष्ठ रहेका छन् ।
त्यस्तै, सुरक्षा उपसमितिको संयोजक कोष सञ्चालक परिषद् सदस्य रामशोभित नायक, स्वयंसेवक परिचालन उपसमितिको संयोजक परिषद् सदस्य केदारमान भण्डारी, दर्शन व्यवस्थापन तथा चन्दन वितरण उपसमितिको संयोजक परिषद् सदस्य गंगासागर बानियाँ, सरसफाइ तथा स्थान व्यवस्थापन उपसमितिको संयोजक परिषद् सदस्य रूपा शाही बास्तोला र तीज व्यवस्थापन उपसमितिको संयोजक परिषद् सदस्य संगीता कुमारी राम रहेका छन् ।
सम्बन्धित सबै निकायको सहकार्यमा तीज पर्वलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाउन उपसमितिका बैठकमा आवश्यक तयारी र समन्वयका विषयमा छलफल भइरहेको कोषले जनाएको छ ।
यस वर्षको हरितालिका (तीज) भदौ २९ गते सोमबार परेको छ । तीजको व्रतका दिन पशुपतिनाथसहित देशभरका शिवालयमा विशेषगरी महिला श्रद्धालुको ठूलो भीड लाग्ने गर्छ।




